पूर्वसांसद शाहले पठाए लकडाउनमा फसेका मजदुर र विद्यार्थी
काठमाडौं, १४ वैशाख : पूर्व सांसद राजीव विक्रम शाहले काठमाडाैंमा लकडाउनका कारण फसेका मजदुर र विद्यार्थीहरुलाई काेराेना परीक्षण गरेर जिल्ला पठाएका छन् । दुर्गम जिल्लामा काेराेनाकाे जाेखिम बढ्ने भन्दै उनले घर जान चाहेकाहरुलाई थर्मल गनबाट तापक्रम नापेर मात्रै घर पठाएका हुन् ।
कोरोना भाइरस (कोभिड-१९) काे महामारी फैलिन नदिन गरिएकाे लकडाउनका कारण राजधानीमा अल्झिएका मजदुर तथा विद्यार्थीहरुलाई तापक्रम नापेर स्वास्थ्य अवस्था ठीक भएकाहरुलाई मात्रै घर पठाएका हुन् । काठमाडाैंकाे स्वयम्भूमा आज दिउँसाे थर्मल गनबाट तापक्रम नापेर स्वास्थ्य अवस्था पत्ता लगाउने काम भएकाे हाे । स्वास्थ्य अवस्था ठीक भएकाहरुलाई माक्स लगायतका अतिआवश्यक सुरक्षा सामग्री उपलब्ध गराएर जिल्ला पठाउने कार्य भैरहेकाे नेपाल विद्यार्थी संघ, जाजरकाेटका अध्यक्ष ललित बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार पूर्वसांसद शाहले व्यक्तिगत खर्चमा जिल्ला पठाएका हुन् ।
जाजरकाेट जस्ताे विकट ठाउँमा काेराेनाकाे महामारी फैलिन सक्ने भन्दै र्यापिड टेस्ट गरेर मात्रै जिल्ला पठाउने चाहना भएपनि सरकारले त्याे अनुमति नदिएपछि तापक्रम मात्रै नापेर स्वास्थ्य अवस्था ठीक भएकाहरुलाई घरतिर पठाइरहेकाे पूर्व सांसद राजीव विक्रम शाहले बताएका छन् । उनले भने,”जिल्लातिर यताबाट जानेहरुका लागि न त उपयुक्त क्वारेन्टीन बनाइएकाे छ, न त सबै मानिस सजग नै छन्, त्यत्तिकै हुलकाे हुल पठाउँदा भाेली महामारी फैलियाे भने सबै सखाप हुन्छ, त्यही भएर कम्तीमा र्यापिड टेस्टसम्म गराएर पठाउँछु भन्ने साेचेकाे थिएँ सरकारले अनुमति दिएन । त्यसाे गर्दा केही हदसम्म जाेखिम कम हुन्थ्याे, वाध्यतावश थर्मल गनबाट तापक्रम मात्रै नापेर जिल्लातिर पठाउँनु पर्याे ।”
पूर्व सांसद शाहकाे प्रशंसा गर्दै छेडागाड नगरपालिका-१२ का कीर्ती खत्रीले भने,’सरकारले गर्न नसकेकाे काम गर्नु भयाे, यतिसम्म मानवीय साेच भएकाे मान्छे अहिलेसम्म मैले देखेकाे छैन् ।’ उनले थपे, ‘हाम्राेतिर त जति हुने, उति रुने भन्ने उखान प्रख्यात थियाे, अर्काे उखान पनि थियाे धन हुनेकाे मन हुँदैन, मन हुने धन, तर उहाँमा त्यस्ताे देखिएन । आफू जति नै सम्पन्न हुनुहुन्छ उति उदार मन रहेछ ।’
समाजसेवी तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य किरण सिंह ठकुरीले लकडाउनमा फसेका मजदुर तथा विद्यार्थीहरुकाे तथ्यांक संकलन गरी गन्तव्यसम्म पुर्याउने अन्य चाजाेपाजाे मिलाएका थिए । उनका अनुसार दुईओटा बसमा १ सय १० जना मजदुर तथा विद्यार्थीहरुलाई जाजरकाेट पठाइएकाे हाे ।
यसअघि लकडाउनका कारण काठमाडौं उपत्यका भित्र समस्यामा परेका विद्यार्थीहरुलाई आफ्नै गाडीमा राहत सामग्री बोकेर विद्यार्थीहरुको कोठाकोठा पुगेर वितरण गरेका थिए । उनले २०६६ सालकाे झाडापखालाकाे म’हामारीमा पनि हेलिकाेप्टरबाट औषधि र स्वास्थ्यकर्मी पठाएर जिल्लाकाे लागि ठूलाे याेगदान गरेका थिए ।
पूर्वसांसद शाह नेपाली कांग्रेस जाजरकोट साविककाे क्षेत्र नम्बर- २ बाट २०७० सालको संविधान सभा चुनावमा निर्वाचित भएका थिए । अहिले प्रतिनिधि सभाकाे लागि एउटा मात्रै क्षेत्र कायम गरिएकाे छ । गएकाे चुनावमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग प्रतिस्पर्धा गरेका थिए ।