हल्लैहल्लाकाे बीच किमले दक्षिण अफ्रिकालाई पठाएको पत्र सार्वजनिक

सिओल : हल्लैहल्लाकाे बीचमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई पठाएको पत्र सार्वजनिक भएकाे छ । मृ’त्युकाे अट्कलबाजी चलिरहेका बेला त्यहाँका सरकारी सञ्‍चारमाध्यमहरुले मुलुकको सर्वोच्च नेता उनले दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसालाई पठाएको पत्र सार्वजनिक गरेका हुन् ।

दक्षिण अफ्रिकाको स्वतन्त्रता दिवसको अवसरमा उत्तर कोरियाली नेता उनले बधाई दिँदै राष्ट्रपति रामाफोसालाई २७ अप्रिलमा पत्र पठाएको उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले जनाएको छ ।

पछिल्लो दुई साताभन्दा बढी समयदेखि उनी उत्तर कोरियाली मिडियामा नदेखिएपछि उनका विषयमा विभिन्‍न अनुमानहरु भइरहेका बेला केसीएनएले सोमबार २७ अप्रिलमा उनले पठाएको पत्र सार्वजनिक गरेको हो । स्वतन्त्रता दिवसको अवसरमा दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसालाई पठाएको पत्रमा भनिएको छ, “दुई मुलुकको मैत्रीपूर्ण सम्बन्ध अनन्तकालसम्म चलिरहने छ । दुई देशबीचको सम्बन्ध थप सुदृढ हुँदै जानेछ ।”

सोमबार नै दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोङ उनका विषयमा फैलिएका भ्रमबारे सावधानी अपनाउन आग्रह गर्दै उनी जीवित र स्वास्थ भएको दाबी गरेको थियो । सीएनएनसँग कुरा गर्दै राष्ट्रपति मुन जाइ-इनका परराष्ट‍्र नीति सल्लाहकार मुन चुङ-इनले भने, “हाम्रो सरकारको धारण स्पष्ट छ । कम जोङ उन जीवित छन् र स्वस्थ छन् । उनी १३ अप्रिलदेखि वनसनमा रहेका छन् । त्यसयता कुनै शंकास्पद गतिविधिहरु भएका छैनन् ।

किमले ११ अप्रिलमा मुख्य राजनीतिक बैठकको अध्यक्षता गरेका थिए । त्यसपछि उनी सरकारी सञ्‍चारमाध्यममा देखिएनन् । त्यसको चारदिनपछि १५ अप्रिलमा भएको किमका हजुरबुबा किम यी सङको जन्मदिनमा पनि उनी उपस्थित थिएनन् । त्यो वर्षकै ठूलो उत्सव थियो, मुलुकका सर्वोच्च नेताका हजुरबुबाको जन्म दिन तर, किमको अनुपस्थिति । किमले यसअघि यो अवसर कहिल्यै छुटाएका थिएनन् । उनी त्यहाँ उपस्थित नहुँदा यसलाई गम्भीर रुपमा व्याख्या गर्न थालिएको थियो ।

सम्बन्धित खवर

Back to top button