सुदूरपश्चिममा १९ दिनयता नयाँ कोरोना संक्रमित भेटिएनन्

कैलाली, १९ वैशाख : सुदूरपश्चिम प्रदेशमा पछिल्लो १९ दिनमा दुई हजार बढिको थ्रोट स्वाबको नमूना परीक्षण गरिएकोमा कसैमा संक्रमण देखिएको छ्रन्। सुदूरपश्चिम प्रदेशमा बैशाख १ गते सम्म पाँचौ जनामा संक्रमण देखिएकोमा त्यसयता गरिएका दुई हजार ६६ जनाको परीक्षणमा कसैमा पनि कोरोना पोजेटिभ नदेखिएको हो।

बैशाख १ गते लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि ६१ वर्षीया महिलामा कोरोनाको संक्रमण देखिएको थियो भने त्यसयता भने कसैमा पनि संक्रमण देखिएकोे छैन्। पछिल्लो १९ दिनको अवधीमा ११ हजार पाँच सय बढिको र्‍यापिड टेस्ट पनि गरिएको छ। र्‍यापिड टेस्टमा १० जनाको रिपोर्ट पोजेटिभ देखाएपनि पीसीआर परीक्षणले उनीहरुको रिपोर्ट नेगेटिभ देखाईसकेको छ।

सुदूरपश्चिम प्रदेशमा १९ दिनयता कोरोना संक्रमित नभेटिएपछि परीक्षण पनि ह्वात्तै घटेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार शुक्रबार दुई सय ६१ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ। पीसीआरबाट २२ जना र र्‍यापिड टेस्टबाट दुई सय ३९ जना गरी शुक्रबार दुई सय ६१ जनाको मात्रै कोरोना परीक्षण गरिएको हो। शुक्रबार परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ।

कोरोना परीक्षणका लागि शुक्रबारमात्रै नौँ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ भने ३९ जनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको छ। यस्तै निर्देशनालयले फागुन १ गतेदेखि सुुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि नमूना संकलन सुरु भएकोमा हालसम्म दुवै विधीबाट १६ हजार छ सय ४५ जनाको कोरोना परीक्षण भइसकेको जनाएको छ। पीसीआर बिधीबाट दुई हजार ८ सय २२ जनाको परीक्षण र १३ हजार ८ सय २३ जनाको र्‍यापिड टेस्ट गरिएको निर्देशनालयको दावी छ। यस्तै अब प्रदेशभरी पाँच हजार एक सय ९० र्‍यापिड टेस्ट किट मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै प्रदेशभरीका विभिन्न अस्पतालबाट अहिलेसम्म एक सय १५ जना डिस्चार्ज भएका छन्। चार जना कोरोना संक्रमित र बाँकी एक सय ११ जना शंकास्पद बिरामीलाई अस्पतालले डिस्चार्ज गरेको हो। कोरोना संक्रमितलाई लगातार दुई पटकसम्म कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो भने शंकास्पदहरुलाई भने पहिलो रिपोर्ट नै नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ।

सम्बन्धित खवर

Back to top button