माधव सशंकित हुनेगरि दुई अध्यक्षबीच कानेखुसी


काठमाडौं, २० वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाललाई सशंकित हुने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालले कानेखुसी गरेका छन् । शनिबार बेलुका ४ बजेका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक डेढ घण्टा पछाडि धकेलेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईजना महत्वपूर्ण व्यक्तित्वसँग वार्तालाप गरे- पहिले राष्ट्रपति विद्यादेवी भण्डारी, त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्ड ।
शीतलनिवासमा राष्ट्रपतिलाई करिब आधा घण्टा भेटेर फर्केका प्रधानमन्त्री ओलीले सचिवायलको बैठक सुरु हुनुअघि प्रधानमन्त्रीनिवासकै गोप्य कोठामा प्रचण्डसँग करिब ४० मिनेट खासखुस गरे । सचिवालयका नेताहरुले कुरिरहेका बेला दुई जना अध्यक्ष आपसी सहमति गरेर गत बुधबारको भन्दा उज्यालो मुद्रामा बैठकस्थलमा आए ।



सचिवालय स्रोतका अनुसार बैठकको सुरुमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले छोटो सम्वोधन गरे । उनले अहिलेसम्म जे-जे तीतामीठा भए, त्यसलाई बिर्सिन र मिलेर अगाडि बढ्न प्रस्ताव गरे ।
‘म पार्टीको अध्यक्ष पनि हुँ, सरकारको नेतृत्व पनि मैले नै गरेको हुनाले अहिलेसम्म जेजस्ता कमजोरीहरु भए, त्यसको जिम्मा मैले लिनैपर्छ,’ बैठकमा आत्मालोचना गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मिलेर जानुको विकल्प छैन । यो पार्टीलाई कुनै पनि हालतमा फुट्न दिनु हुन्न ।’
प्रधानमन्त्री ओलीले पार्टी र सरकार सञ्चालनमा कमी कमजोरी भएको भन्दै त्यसका लागि सबैभन्दा बढी आफू नै आत्मालोचित हुने बैठकमा बताए । साथै अगामी दिनमा पार्टीमा सरसल्लाह गरेर सहमतिका साथ अगाडि बढ्ने उनले प्रतिवद्धता जनाए ।
प्रधानमन्त्रीले यति भनिसकेपछि अर्का अध्यक्ष प्रचण्ड बोले । बुधबारको बैठकमा कडारुपमा प्रस्तुत हुँदै ‘म भएको भए प्रधानमन्त्रीबाट राजीनामा दिइसक्ने थिएँ’ भनेका प्रचण्ड शनिबार भने त्यसरी प्रस्तुत भएनन् ।
प्रधानमन्त्री ओलीले जस्तै कार्यकारी अध्यक्ष प्रचण्डले पनि सहमतिका साथ अगाडि बढ्नुपर्ने बताए । साथै अब स्थायी कमिटी बैठक राख्ने र त्यहाँ छलफल गरेर अगाडि बढ्नुपर्ने धारणा प्रचण्डले बैठकमा राखे ।
दुबै अध्यक्षले सहमतिमा जाने कुरा गरिसकेपछि वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीबाट आत्मालोचित हुने र पार्टीलाई एकतावद्ध बनाउने प्रस्ताव सही भएको बताए । तर, स्थायी कमिटीको बैठक बोलाउनैपर्नेमा उनले जोड दिए ।
अर्का नेता माधवकुमार नेपाल भने दुबै अध्यक्षको कुरामा खासै ढुक्क देखिएनन् । बैठकको परिदृश्यबारे जानकारी दिँदै सचिलालयका एक सदस्यले अनलाइनखबरसँग भने, ‘प्रचण्डजी नरमरुपमा प्रस्तुत हुनुभयो, तर माधव कमरेडमा भने अझै पनि केही आशंकाहरु देखिए ।’
माधव नेपालले प्रधानमन्त्रीलाई ‘बेनिफिट अफ डाउट’ (शंकाको सुविधा) दिने बताएको स्रोतको भनाइ छ । दुबै अध्यक्षले सहमतिका साथ अगाडि बढ्नुपर्ने बताएपछि उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीप्रति समर्थन जनाए । साथै उनले पार्टीमा गुटबन्दीको अन्त्य गर्नुपर्ने बताए ।
अर्का नेता ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले पनि पार्टीलाई एकतावद्ध बनाउनुपर्नेर् बताउँदै प्रधानमन्त्रीको भनाइमा समर्थन जनाए ।
अर्का सचिवालय सदस्य रामबहादुर थापा बादलले पार्टीमा रुपान्तरण जरुरी भएका बेला राम्रो निर्णय आएको बताए ।
पार्टीका प्रवक्तासमेत रहेका अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी एकताको उद्देश्य पूरा गर्ने ढोका फेरि खुलेको बताए । तर, पार्टीमा फुटको तरंग कसले र कसरी ल्यायो भनेर प्रश्न गरे ।
भैंसेपाटीमा बसेको बैठकमा राजनीतिक दल फुटाउन सहज बनाउने अध्यादेश फिर्ता लिन लगाउने र नमाने स्थायी कमिटी बैठक राखेर भए पनि फिर्ता गराउने निर्णय भएको स्मरण गर्दै श्रेष्ठले बैठकमा भने, ‘तर केपी कमरेडलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन लगाउने सन्देश कहाँबाट सप्रेषण भयो ?’
नेतृत्वको बोली छिनछिनमा किन फेरियो भन्ने प्रश्न गर्दै श्रेष्ठले अब व्यक्तिस्वार्थ केन्दि्रत पार्टी संघर्षको औजार बनाउने बैठकहरुमा भाग नलिने घोषणा बैठकमा गरेको एक सचिवालय सदस्यले जानकारी दिए ।
सचिवालयको निर्णय सञ्चारकर्मीहरुलाई सुनाउँदै बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्दति र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं ।’
श्रेष्ठले अगाडि भने, ‘पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे-जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलेसमेत आत्मालोचना गर्नुभएको छ ।’
सचिवालय बैठकमा प्रवक्ता श्रेष्ठले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अब के हुन्छ भन्ने प्रश्न गरेका थिए । त्यसपछि गौतमले पनि के गर्ने छलफल गरौं भनेका थिए ।
र, उनलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने र संसदमा ल्याउन प्रयत्न गर्ने निर्णय भएको छ ।
तर, यो निर्णय कार्यान्वयन हुनेमा स्वयं सचिवालयकै नेताहरुले आशंका गरेका छन् ।
प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि उनी हौसिएका थिए । तर, शनिबारको बैठकमा आफूबारे छलफल नै नभई बैठक समापन हुन लागेपछि गौम आफैंले ‘मेरोबारेमा चाहिँ के हुन्छ’ भनेर ध्यानाकर्षण गराउनुपरेको थियो ।
बैठकले वामदेवलाई प्रतिनिधिसभामा ल्याउने निर्णय त गरेको छ, तर यो निर्णय कार्यान्वयन हुनेमा नेताहरु विश्वस्त छैनन् ।
यसअघि वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सचिवालयका बहुमत नेताहरुको निर्णय पनि शनिबारदेखि स्वतः खारेज भएको छ ।
त्यसो त सचिवालय बैठक बस्नुअघि वामदेवलाई उपप्रधानमन्त्री बनाइने चर्चा पनि चलेको थियो । विष्णु पौडेल, बादल र वामदेववीच भएको छलफलबाट त्यस्तो विकल्पबारे चर्चा भएको थियो ।
प्रतिनिधिसभामा हारेको व्यक्ति मन्त्री बन्न नसक्ने संविधानमा प्रष्ट प्रवाधान छ । यो अवस्थामा राष्ट्रियसभाको सदस्यमा मनोनित गरेर वामदेवलाई उपप्रधानमन्त्री बनाउने प्रयास संस्थापन पक्षबाट भए पनि राष्ट्रपतिबाट मनोनित हुने कोटामा वामदेवको नाम अटाउन सकेन ।
अब कहाँको प्रतिनिधिसभा खाली होला र त्यहाँबाट वामदेव चुनाव लड्लान् ? त्यो चुनाव उनले जित्लान् या नजित्लान् ? अहिल्यै बताउनु सकिँदैन । यद्यपि कास्कीका सांसद खगराज अधिकारीले आफू वामदेवका लागि राजीनामा दिन तयार रहेको यसअघि नै बताइसकेका छन् ।
सरकारले विवादास्पद अध्यादेश जारी गरेपछि उत्पन्न राजनीतिक संकटका कारण केही दिन यता नेकपा फुट्न सक्ने वा सरकार ढल्न सक्ने किसिमका आंशकाहरु बढेका थिए । केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षवीच शक्ति संघर्ष चर्केको थियो ।
प्रधानमनत्री ओलीले सचिवालयमा अल्पमतमा परेको अवस्थामा सरकार ढल्ने डरले नेकपा सांसदहरुलाई बालुवाटारमा बोलाएर खाली कागजमा हस्ताक्षर संकलन समेत गरिसकेका थिए ।
लकडाउनका बेला मोरङमा रहेका नेकपा सांसद घनश्याम खतिवडाले पनि बालुवाटारमा हस्ताक्षर संकलन भएको पुष्टि गर्दै भने, ‘मैले पनि जिल्लाबाट आएर बालुवाटारमा हस्ताक्षर गरें ।’
यसरी एकापसमा अविश्वासको खाडल बढ्दै गएका बेला शनिबारको सचिलावय बैठकपछि एकताको भाव सञ्चार भएको नेताहरुले बताएका छन् ।
बैठकपछि महासचिव विष्णु पौडेलले भने, ‘आजको बैठकबाट नेकपा एकतावद्ध छ भन्ने सन्देश प्रवाह भएको छ, पार्टी फुटोस् भन्नेहरुको निराश बनेका छन् ।’
तर, के शनिबारको बैठकपछि नेकपाभित्रको संकट टरेकै हो त ? माधव नेपाल पक्षका एक नेताले भने, ‘हामीले स्थायी कमिटीको बैठक माग गरेका थियौं, वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय सचिवालयले गरेको छ । अब त्यहाँ छलफल हुन्छ ।’
उनको विश्लेषण अनुसार पार्टी सचिवालयमा चलिरहेको नेकपाको अन्तरसंघर्ष अब स्थायी कमिटीको मोर्चामा सरेको छ । तर, सरकारले गरेका कमीकमजोरीहरुको समीक्षा हुन अझै बाँकी छ । सरकार र पार्टी सञ्चालनमा भएका गलत कामबारे नेताहरुले स्थायी कमिटीलाई जवाफ दिन बाँकी छ ।
माधव नेपाल र प्रचण्ड पक्षका नेताहरुले स्थायी कमिटीको बैठक मागे गरेका थिए, त्यसमा उनीहरु सफल भएका छन् । प्रधानमन्त्रीलाई आत्मालोचना गराउन पनि प्रचण्ड-माधव पक्ष देखिएको छ ।
कतिपय नेताहरुको विश्लेषणअनुसार प्रधानमन्त्री र अध्यक्षमध्ये एउटा पद छाड्नैपर्ने अवस्थामा पुगेका केपी ओलीले शनिबारको बैठकपछि हाइसञ्चो महसुस गरेका छन्, जुन उनको जीत हो । केही मन्त्री र मुख्यमन्त्रीहरु फेर्न तयार भइसकेका प्रधानमन्त्रीले शनिबारको बैठकमा त्यो गुमाउनुपरेन । र, वामदेवलाई प्रधानमन्त्री बनाउनु पनि परेन । याे सामग्री अनलाइन खबरले तयार पारेकाे हाे ।








