एकैदिन नेपालगन्जमा मात्रै १५ जनामा कोरोना संक्रमण


काठमाडौं, २१ वैशाख : एकैदिन बाँकेको नेपालगन्ज मात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि आजै ९ जनामा कोरोना पुष्टि भएकोमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।



यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्रै नेपालमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।








