प्रचण्ड र विष्णु पौडेललाई सहमतिको प्रस्ताव तयार गर्ने जिम्मा


काठमाडौं, २२ वैशाख : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले पाएका छन् । सोमबार बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलपछि कार्यकारी अध्यक्ष र महासचिवले प्रस्ताव तयार पार्ने भएका हुन् । अब अध्यक्ष र महासचिवले शनिबार बसेको सचिवालय बैठकको सहमति र भावनाअनुसार प्रस्ताव तयार पार्ने छन् ।
बालुवाटारमा सोमबार भएको दुई अध्यक्षवीचको भेटमा गत मंसिर ४ गतेको सहमतिमै फर्किने गरी त्यसको व्यवहारिक कार्यान्वयनको मोडालिटीसमेत तयार भएको स्रोतले जनायो । मंसिर ४ गतेको निर्णयमा प्रधानमन्त्री केपी ओलीले पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने र अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको है’सियतमा पार्टी काम सञ्चालन गर्ने भनिएको थियो ।



ओली र प्रचण्डबीचको भित्री सहमतिबारे अझै नेकपामा आ’शंका छ । आइतवार आफू निकट नेताहरुसँगको छलफलमा माधव नेपालले प्रचण्ड र आफू एकै ठाउँमा रहेको बताएका थिए । नेपाल पक्षले एक व्यक्ति एक पदको मर्म अनुसार चल्नुपर्ने अडान राखिरहेको छ ।
यसबीचमा ओलीले सरकार सञ्चालनमा पार्टीको निर्देशन अनुसार अघि बढ्ने,मन्त्रिपरिषद उपयुक्त समयमा पुनर्गठन गर्ने र कतिपय नेताहरुको कार्यविभाजनमा समेत सहमतिका साथ हेरफेर गर्ने सहमतिमा भएको चर्चा चलिरहेका छ । अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले बुधवार बिहानसम्म सहमतिको प्रस्ताव तयार पारेपछि पुनः दुई अध्यक्षबीच छलफल भएर सचिवालयमा जानेछ ।








