नेकपाको स्थायी कमिटीको समीकरण : कसको पक्षमा कति ?
काठमाडौंं, २३ वैशाख : केन्द्रीय सचिवालयमा उपाध्यक्ष बामदेव गौतमको साथ पाएपछि बहुमतमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि वैशाख २५ मा बस्ने स्थायी कमिटी बैठक पेचिलो बन्नेछ । स्थायी कमिटीमा करिब दुई तिहाई सदस्यहरु ओलीको विपक्षमा हुनेछन् ।
यदि ओली र प्रचण्डबीच मंसिर ४ को सहमतिअनुसार अघि बढ्ने मोडालिटीमा सहमति भएको हो भने पूर्वमाओवादी पक्ष उनी विरुद्ध आक्रामक हुने छैन । त्यो अवस्थामा माधव नेपाल पक्ष मात्र उनको विपक्षमा उभिँदा विरोधीको संख्या कम हुने आशा ओली पक्षको छ ।
यद्यपि प्रचण्डले माधव नेपाल र झलनाथ खनाललाई आफ्नो साथमै राख्न खोजिरहेका छन् । पूर्वमाओवादीका स्थायी कमिटी सदस्यहरुमध्ये हाल ओली सरकारमा मन्त्री रहेकाहरुले प्रधानमन्त्रीको राजीनामा माग्ने वा चर्को विरोध गर्ने सम्भावना भने छैन । माधव नेपाल निकट नेताहरु भने प्रधानमन्त्रीको राजीनामा माग्ने तयारीमै देखिन्छन् ।
स्थायी कमिटीमा राजीनामा मागेर अप्ठेरो पार्नुअघि नै शीर्ष तहमा समझदारी कायम गर्न प्रधानमन्त्रीले परामर्श थालेका छन् । मंगलबार मात्रै उनले अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग बेग्लाबेग्लै छलफल गरेका छन् । तर, माधव नेपाल ‘एक व्यक्ति एक पदको एजेण्डा’सहित स्थायी कमिटी बैठकमा प्रस्तुत हुने संकेत देखिएको छ ।
यद्यपि मन्त्री रहेका माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु घनश्याम भुसाल र योगेश भट्टराई भने प्रधानमन्त्रीको राजीनामा माग्ने लहरमा प्रत्यक्षरुपमा उभिने छैनन् । तर, ‘एक व्यक्ति एक पद’को प्रस्तावमा उनीहरुको विमति छैन । ओली र नेपालबीच कुनै सहमति भएमा त्यो आफूहरुलाई मान्य हुने यी दुई नेताको भनाइ छ ।
पूर्वमाओवादीतर्फका स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्रीको राजीनामा माग्ने सन्दर्भमा विभाजित छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, गणेश साह, शक्ति बस्नेत लगायतका नेताहरु ओलीको विकल्प प्रचण्डमात्र हुन सक्ने भन्दै ओली हटाएर पूर्वएमालेकै अर्को नेतालाई प्रधानमन्त्री बनाउने कुराको विपक्षमा रहेको केपी ओली पक्षको दाबी छ ।
पूर्वमाओवादीका स्थायी कमिटी सदस्यहरुमध्ये रामबहादुर थापा बादल, वर्षमान पुन, शक्ति बस्नेत, लेखराज भट्ट र गिरिराजमणि पोखरेल मन्त्री छन् । उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग्नुअघि मन्त्री पद छाड्नुपर्ने नैतिक बन्धन छ ।