लकडाउन एक साता थपिने, भोलि बस्ने मन्त्रिपरिषद्बाट निर्णय हुने


काठमाडौं, २३ बैशाख : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लक डाउनको अवधि थपिन सक्ने संकेत गरेको छ। मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत उपस्थितिमा बसेको समन्वय समिति बैठकले लकडाउन बढाउने निर्णय नगरे पनि थपिन सक्ने संकेत गरेको हो।
अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष बैठकले निकालेको छ। बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णय सही रहेको निष्कर्ष बैठकले निकालेको बताए। लकडाउन कति समय थप हुन्छ भन्ने केही नभनेपनि उनले ‘लम्बिन सक्छ’ भने। नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको विडारीले बताए।



बुधबार बस्ने मन्त्रिपरिषद् बैठकमा लकडाउनबारे थप छलफल र निर्णय हुने उनले उल्लेख गरे। ुअहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छु, उनले भने, ुलकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बेठकले निकालेको छ। यसबारे निर्णय भोलिको मन्त्रिपरिषद्ले लिनेछ।








