नेकपाको सचिवालयमा विवाद भएपछि स्थायी कमिटी बैठक अनिश्‍चित

काठमाडौं, २४ बैशाख : बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा विवाद भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक नै अनिश्‍चित भएको छ। बालुवाटारमा गत शनिबार बसेको सचिवालयले वैशाख २५ गते स्थायी कमिटी बैठक डाकेको थियो।

तर बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहितले एक व्यक्ति एक पदको कुरा उठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाएपछि स्थायी कमिटी अनिश्‍चित भएको हो। बैठकपछि बालुवाटारमा सञ्‍चारकर्मीहरुसँग बोल्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यसबारेमा जानकारी दिएका हुन्।

बैठक बस्‍ने नबस्‍नेबारेमा अहिले दुईजना अध्यक्ष बालुवाटारमै छलफलमा हुनुहुन्छु, उनले भने,दुई अध्यक्षको छलफलपछि बैठकबारे ठोस निर्णय आउनेछ। दुई अध्यक्षबीच बैठकको टुंगो र त्यसका एजेण्डा तय गर्न अहिले छलफल भइरहेको छ। बुधबार अपरान्ह बसिरहेको सचिवालय बैठकमा केही नेताले प्रधानमन्त्री या अध्यक्षमध्ये एक पद छाड्नै पर्ने दबाब दिएपछि पार्टी अध्यक्षसमेत रहेका ओलीले बैठक छाडेर हिँडेका थिए।

अघिल्लो सचिवालय बैठकमा आफ्नो पक्षमा बहुमत जुटाउन सफल भएर वैशाख ८ को अध्यादेशले ल्याएको संकट टारेका ओलीमाथि फेरि घेराबन्दी सुरु भएको हो। केही दिनअघि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवासमा बसेको सचिवालयका केही सदस्यको गुटभेलाले ओलीलाई दुईमध्ये एक पदबाट बिदा गर्नै पर्ने निचोड निकालेको थियो।

उक्त गुट बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी थिए। त्यो गोप्य बैठकले ओलीको एकलौटी रोक्न दुईमध्ये एक पदबाट बिदा गर्नैपर्ने निचोड निकाले अनुसार आजको बैठकमा कुरा उठाइएको थियो। सचिवालयमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठक छाडेर आराम गर्न निस्किएका हुन्।

खास गरी अध्यक्ष दाहाल र नेपाल समूह ओलीप्रति आक्रमक भएको छ। सकेमा सरकारबाटै बिदा गर्ने रणनीति उनीहरुले अख्तियार
गरेपछि ओलीले पनि प्रतिरक्षाका लागि यसबीचमा निरन्तर छलफल गरेका थिए।

सम्बन्धित खवर

Back to top button