डा. केसी निःशुल्क उपचार गर्न बझाङ लागे

डडेल्धुरा, २५ बैशाख : प्रध्यापक डा. गोविन्द केसी १७औँ पटक सत्याग्रह बस्न गत कात्तिकमा डडेल्धुरा पुगे । डडेल्धुरा पुगेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अर्बौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरूलाई कारबाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेका थिए ।

तर, कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह बीचमै रोकियो । १८ कात्तिकदेखि सुरू भएको उनको सत्याग्रह २६ कात्तिकमा नवौँ दिनमा स्थगित भयो । राष्ट्रियताको विषयमा देशभर जनस्तरबाट आवाज उठेको भन्दै डा. केसी सत्याग्रह स्थगित गरेर काठमाडौं फिर्ता भएका थिए ।

फेरि उनी गत फागुन २० गते गते डडेल्धुरा पुगे । एकाएक डा केसी डडेल्धुरा पुगपछि धेरैले उनी अनशन बस्न आएका आशंका गरे । तर, डा. केसी अनशन नबसेर डडेल्धुरा पुगेको दोस्रो दिनदेखि नै निःशुल्क रूपमा बिरामीको उपचार गर्न थाले । डा. केसीले डडेल्धुरा अस्पतालमा हुँदा २ हजारजती सामान्य केस र करिब ४ सयको हाराहारीमा अप्रेशन गरेका थिए । यद्यपि उनले कति बिरामी जाँचे भन्ने यकिन तथ्यांक अस्पतालसँग पनि छैन् ।

अमरगढी-५ कीर्तिपुरको एउटा घरमा कोठा लिएर बसेका डा. केसी करिब १० मिनेट हिँडेर डडेल्धुरा अस्पताल पुग्थे । उनी डडेल्धुरा अस्पतालमै कार्यरत एक कार्यालय सहयोगीको घरमा बस्थे भने घरमा बसेबाफत कोठा भाँडा पनि आफैँ तिर्थे ।
विरामीको उपचार भनेपछि खाना खान पनि बिर्सने डा. केसी करिब ६५ दिन डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा प्रदान गरेर बुधबार बझाङतर्फ लागेका छन् । उनी बझाङ जाने क्रममा डडेल्धुराको प्रसिद्ध शक्तिपीठ घटाल थानको दर्शन गरेर गएका थिए ।

२६ वर्षसम्म त्रिवि शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवं विशेषज्ञका रूपमा काम गरेका केसीले गत असोजमा अवकास पाएका थिए । अवकास पाएपछि अहिले उनी विकट जिल्लाहरूमा विरामीको उपचार गर्न घुमिरहेका छन् । डा. केसीले डडेल्धुरा रहदा हाडजोर्नीसम्बन्धी समस्या भएका धेरै विरामीको उपचार गरेका थिए। त्यति मात्र होइन् डा. केसीले शल्यक्रिया कक्षमा चाहिने सानातिना सामानसमेत आफ्नै रकमले किन्ने गरेका थिए ।

दरबन्दी अनुसारको चिकित्सक नहुँदा आफैँ थला परेको डडेल्धुरा अस्पतालमा डा केसी आएपछि उपचार गर्ने बिरामीहरूको भीडभाड नै हुने गरेको थियो । केसी डडेल्धुरा अस्पतालमा आएपछि अन्य पहाडि जिल्लाका बिरामीहरू पनि डडेल्धुरा पुग्ने गरेका थिए ।

अस्पतालमा कार्यरत कर्मचारी रमेश भट्टका अनुसार डा केसी ६५ दिन निःशुल्क सेवा दिएर बुधबार बझाङतर्फ लागेका हुन् । अब उनी केही दिन उतै सेवा दिनेछन् । ३५ सय पर्ने १५ जोडा वैशाखी किनेर अस्पताललाई दिएका डा। केसीले अस्पतालबाट कुनै रकम नलिएको र उल्टै बिरामीका लागि औषधिसमेत किनिदिने गरेको थिए ।

भगवान् बनेर आएका केसी डडेल्धुराबाट जाने बेला गोजी टक्टक्याएर गएको भट्टले बताए । दिउँसो अस्पतालको कामबाहेक केही नबोल्ने र बेलाबेला आफ्ना सबै बिरामीको अपडेट लिने गर्थे । बिरामीको खबर बुझेपछि उनी नयाँ बिरामीको उपचार गर्न र ती बिरामीलाई परामर्श दिनमै व्यस्त हुन्थे ।

सम्बन्धित खवर

Back to top button