‘नेपाली भूमि मिच्ने भारतीय कार्यमा चीनको पनि हात छ’ -भिडियाे


काठमाडौं, २८ वैशाख : सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि मिच्ने भारतीय कार्यमा चीनकाे पनि संलग्नता रहेको बताएका छन् । भारतले सीमा अतिक्रमण गरेर १९ किलाेमिटर सडक बनाएकाे विषयमा विराेध हुँदैगर्दा चीनले पनि सगरमाथा आफ्नाेमा पर्ने दाबी गरेपछि अध्यक्ष प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न रहेको बताएका हुन् ।
लिपुलेक क्षेत्रको १९ किलोमिटर नेपाल भूमि मिचेर भारतले गत शुक्रबार तिब्बतको कैलाश मनासरोवर जाने बाटोको उद्घटान गरेपछि मुलुकमा विरोध भइरहेका बेला अध्यक्ष प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न रहेको बताएका हुन् । २०७२ सालमा चीनसँगको सहमतिअनुसार भारतले सो मार्ग बनाएको हो । यसलाई रोक्न आग्रह गर्दा भारतले नमानेको आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।



सडकदेखि संसदसम्म नेपाली भूमि मिच्ने भारतीय कार्यको विरोध भइरहेका बेला आइतबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष प्रचण्डले भारतले नेपालको भूमि मिचेकोबारेमा अब चीनसँग पनि छलफल गर्नुपर्ने बताए । लिम्पियाधुरामा रहेको सीमा विवाद अन्त्यका लागि भारतसँग मात्र छलफल गरेर समाधान नहुने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अप्ठेरो छ । त्यहाँ चीन पनि संलग्न भएको छ ।’
२०७२ सालमा भारत र चीनबीच लिपुलेक हुँदै ब्यापार विस्तार गर्ने विषयमा समझदारी भएको प्रसङ्ग कोट्याउँदै उनले भने, ‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो, कालीनदीको सम्पूर्ण पूर्वनेपाल हो पश्चिम भारत हो भन्न्ने कुरा स्पष्ट पार्दै यो समस्या समाधानको निम्ति राजनीतिक कुटनीतिक हल गर्नुपर्छ जे भनेको थियो । लिपुलेक प्रकरणपछि यो त्रिदेशीय जस्तो बन्न गएको छ । यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अप्ठेरो छ । त्यहाँ चीन पनि संलग्न भएको छ, भारत चीनको सम्झौता सहमति भएको हुनाले ।’
हर्नुस् भिडियाे