चिनियाँ मिडियाले सच्याएर लेख्यो ‘सगरमाथा चीन-नेपाल सीमा क्षेत्रमा पर्छ’


काठमाडौंं, २९ वैशाख : यसअघि सगरमाथा चीनमा रहेको दाबी गरेकामा अहिले गल्ती सच्याएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले नेपालमा रहेको सगरमाथा आफ्नोमा पर्ने दाबी गरेको थियो । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले यसअघिको गल्ती सच्याउँदै भन्यो, सगरमाथा नेपाल-चीन सीमानामा पर्छ ।
चाइना ग्लोबल टेलिभिजन नेटवर्कले गरेको ट्विटमा भनिएको छ, नेपाल-चीन सीमामा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाका रुपमा चिनिएको चोमोलोङ्मा हिमालको आकाशमा १ मेको शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।
यसअघि २ मेमा सीजीटीएनले भनेको थियो, चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाका रुपमा चिनिएको चोमोलोङ्मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।



यसअघि सगरमाथाको उचाइ सर्भे र म्यापिङका लागि चीनले ५३ सदस्यीय सर्भेयरको टोली सगरमाथाको चुचुरोमा पठाउने बताएको थियो । लामो समयदेखिको सगरमाथाको उचाइसम्बन्धी विवादलाई अन्त्य गर्न चीनले सगरमाथाको चीनतर्फको बेसक्याम्पमा २ मार्चदेखि प्राविधिक तयारी थालेको हो ।
चीनले सगरमाथाको उचाइ निर्क्योल गर्न बेइडोउ नेभिगेस स्याटेलाइट प्रणाली र चिनियाँ सर्भे उपकरणहरुको प्रयोग गरिने साउथ चाइना मर्निङ पोस्टले जनाएको थियो ।
नेपालमा सगरमाथा भनिएको र तिब्बतमा कोमोलोङ्मा भनिएको यो हिमाल चीन र नेपालको सीमा क्षेत्रमा पर्छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार नेपाल र चीनबीच सगरमाथाको उचाइ चट्टान भएसम्मको भागलाई मान्ने अथवा हिउँको चुचुरोलाई मान्ने भन्ने विषयमा विवाद छ ।