थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १ सय ३४

काठमाडौं, २९ वैशाख : आजै नेपालमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १३४ पुगेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण उनीहरूमा कोभिड-१९ देखिएको हो।

संक्रमितमध्ये कपिलवस्तुको यशोधरा गाउँपालिका-८ र बुद्धभूमि नगरपालिका-७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुष छन्।

यसैगरी, रुपन्देहीको समरीमाई गाउँपालिका-७ र लुम्बिनी संस्कृतिक गाउँपालिका-६ निवासी २४, २६, २७, ३०, ३२ र ४० बर्षीय पुरुष तथा बर्दियाको राजापुर-५ निवासी ११ वर्षीय बालिका छन्।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका डा‍. अधिकारीले बताएका छन्। आज बिहान मात्रै कपिलवस्तुमा १० जना संक्रमित थपिएका थिए।

यसैगरी आजै सप्तरीमा १८ वर्षीय युवकमा संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा आज मात्रै २४ जना संक्रमित थपिएका छन्।
संक्रमित १३४ जनामध्ये ३३ जना निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित खवर

Back to top button