हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका वडाध्यक्ष धरौटीमा रिहा


म्याग्दी, ३१ वैशाख : हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका छन् । जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मीको मङ्गलबारको इजलासले शेरपुजालाई धरौटीमा छाड्न आदेश गरेको हो ।
सामाजिक सञ्जाल फेसबुकमा शेरपुजाले आफूसँग गोली रहेको स्टाटस राखेपछि प्रहरीले घर खानतलासी गरेको थियो । २०७६ चैत ३० गते शेरपुजाको घरमा खानतलासी गर्दा प्रहरीले एक थान बाह्रबोरको गोली बरामद गरेको थियो ।



हातहतियार राख्ने अनुमति नलिएका शेरपुजाको साथमा रहेको गोली अवैध भएको पुष्टि भएपछि प्रहरीले हातहतियार तथा खरखजना मुद्दा चलाएको थियो । अदालतको आदेशानुसार शेरपुजा दुई लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका म्याग्दी जिल्ला अदालतका श्रेस्तेदार खिलप्रसाद बुर्लाकोटीले बताए । जिल्ला सरकारी वकिल कार्यालयले शेरपुजाविरुद्ध सात वर्ष कैद र रु ७० हजार जरिबानाको माग दावी गरेको थियो ।
शेरपुजा विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उमेद्वार बनेका थिए । स्थानीय चुनावअघि कांग्रेसमा प्रवेश गरेका शेरपुजा रघुगङ्गा पालिका कार्यसमितिको सचिवसमेत हुन् ।
कानूनी व्यवस्था अनुसार फौजदारी अभियोग लागेकाले अदालतबाट अन्तिम फैसला नहुँदासम्म उनको पद निलम्बन हुनेछ । रासस