भक्तपुरकाे दुवाकोट र शंखधर चोक क्षेत्र सिल

भक्तपुर, ३१ वैशाख : जिल्लाकाे दुवाकोट र शंखधर चोक क्षेत्र सिल गरिएकाे छ । दुईजना कोरोना संक्रमित भेटिएपछि भक्तपुरको दुवाकोट र नयाँथिमीस्थित शंखधर चोकक्षेत्र सिल गरिएको हाे ।

दुवाकोटमा बस्दै आएका सशस्त्र प्रहरीका जवान र नयाँथिमीमा बस्दै आएकी स्टाफ नर्समा मंगलबार राति कोरोना पुष्टि भएपछि दुवै स्थानलाई सिल गरिएको हो। स्थानीय प्रशासनले मध्यपुर थिमि नगरपालिकाको शंखधर चोक क्षेत्र र चाँगुनाराण नगरपालिका-१, दुवाकोट क्षेत्रलाई सिल गरेको हो।

दुवाकोटमा बस्दै आएका सशस्त्र प्रहरीका २७ वर्षीय जवान त्यहीँ रहेको सशस्त्र प्रहरीको नीलवाराही गणमा कार्यरत थिए । उनी हाल पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका थिए । आरोग्य फाउन्डेसन ललितपुरमा कार्यरत २५ वर्षीय नर्स सुनसरीबाट मोटरसाइकलमा आएर साथीको कोठामा बसेकी थिइन्।

साथी पनि भक्तपुरकै मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्स हुन् । साथीसँग बसेकी उनको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो। दुवैजना अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भइसकेका छन् । अहिले उनीहरु दुवैको ‘ट्राभल हिस्ट्री’ पत्ता लगाएर ‘कन्ट्याक्ट ट्रेसिङ’ भइरहेको बताइएको छ ।

सम्बन्धित खवर

Back to top button