युएईमा सत्कार पाेष्टका प्रतिनिधि दिपेश के.सी.लाई काेराेना संक्रमण


आवुधावी, ३१ वैशाख : हाम्रा सत्कार पाेष्टका युएई प्रतिनिधि दिपेश केसीलाई काेराेना संक्रमण पुष्टि भएकाे छ । युएई प्रतिनिधि केसीलाई आवुधावीमा रहेकाे एनएमसी अस्पतालले काेभिड-१९ भएकाे पुष्टि गरेकाे हाे ।
उनी एक महिना अगाडी काेराेनाकाे सामान्य लक्षण देखिएपछि स्वास्थ्य परीक्षणकाे लागि आवुधावी स्थित एनएमसी अस्पताल पुगेका थिए । उक्त अस्पतालले पहिलाेपटक परीक्षणकाे लागि लगिएकाे स्वावकाे रिपाेर्ट नै दिएन । दाेस्राेपटक फेरि लिइएकाे स्वावकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।



रिपाेर्ट पाेजेटिभ आउँदाकाे समयमा भने आफूलाई काेराेनाकाे कुनै लक्षण नदेखिएकाे केसीले बताएका छन् । खानपान, व्यायम तथा याेगमा ध्यान दिएपछि काेराेनाकाे लक्षण विस्तारै हट्दै गएकाे उनकाे अनुभव छ । उनी भन्छन् ‘सुरुमा बिरामी हुँदा गाह्राे महशुस भएकाे थियाे, अहिले खानपान र याेग तथा व्यायममा विशेष ध्यान दिन थालेपछि ठिक भैसकेकाे छु ।’ उनले थपे “काेराेना पाेजेटिभ भएपनि निराश भएकाे छैन्, यसलाई जितिसकेकाे महशुस गरेकाे छु, पूर्णरुपमा स्वस्थ भैसकेकाे छु, मलाई कुनै खतरा छैन् ।”
सल्यान छत्रेश्वरी-५, लेखपाेखराका दिपेश के.सी. तीनवर्ष देखि युएईको आवुधावीमा रहेका छन् । कोरोनाले विश्वभर महामारीको रुप लिइरहेकाे छ । धेरै मानिसमा त्रास उत्पन्न गरिदिएकाे छ । मिडियाहरुमा संक्रमितहरुकाे परिचय गाेप्य राख्नु भनेकाे काेराेनालाई थप प्राेत्साहन गरिनु हाे भन्ने उनकाे ठम्याइरहेकाे छ । उनी भन्छन् ‘संक्रमितकाे नाम, ठेगाना र फाेटाेसमेत मिडियामा आयाे भने कम्तिमा सम्पर्कमा रहेका व्यक्तिहरु आफै सजग हुन्छन् र अन्य व्यक्तिमा सर्न नदिन आइसाेलेसन तथा क्वारेन्टीनमा बस्न सक्छन् ।’
उनी आफ्नाे अनुभव अरुसँग सेयर गर्न चाहन्छन् । अरुलाई मद्दत पुगाेस् भन्ने उनकाे ध्येय रहेकाे छ ।
यस्ता थिए लक्षणहरु
“पहिलो दिन हल्का टाउको दुख्ने र ज्वरो आए जस्तो महसुस हुनथाल्याे । बिस्तारै शरीर कमजोर (waekness) हुँदै गएकाे महशुस गरेकाे थिएँ । खाना खान रुचि हराउँदै गयाे । छातिभित्र आगोले पोले जस्तो महशुस हुन थाल्याे । कसैकसैलाई खोकी पनि लाग्छ भन्थे तर मलाई लागेन । नाक र जिब्राेले बिस्तारै स्वाद थाहा पाउन छोड्याे ।
परीक्षणकाे लागि अस्पताल गएँ । संक्रमितकाे संख्या धेरै भएर हाेला संकलन गरिएकाे स्वावकाे रिपाेर्ट नै आएन । सिटामाेल र छातिकाे जलन कम गर्ने झाेल औषधि दिएर पठायाे । त्यसपछि मिडियामा विशेषज्ञले दिएका टिप्सलाई फ्लाे गरें । खानपिन, आराम, याेग तथा व्यायाममा ख्याल गर्नु पर्दाे रहेछ भन्ने बुझें । त्यसपछि नियमित विशेषज्ञहरुका टिप्सलाई फ्लाे गरिरहें ।
जस्ताे कि: अदुवा, कागती, तातोपानी, मह, मरिच, बेसार प्रत्येक २-२ घण्टाकाे फरकमा खाने गरें । खाना दाल, भात, तरकारी सामान्य नै खाइरहेकाे छु । ९ घण्टासम्म सुत्ने गरेकाे छु । यसले आराम मिलेकाे छ । व्यायाम गर्दा बिहान वेलुका २-२ घण्टा गरिरहेकाे छु ।
पहिलाे पटक परीक्षणका लागि लिइएकाे स्वावकाे रिपाेर्ट नआएपनि दाेस्राेपटक लिइएकाे स्वावकाे रिपाेर्ट पाेजेटिभ आएकाे छ । मलाई आत्मविश्वास छ यसले केही गर्न सक्दैन । एक महिना अगाडी मात्रै अस्वस्थ थिएँ । अहिले स्वस्थ छु । अबकाे रिपाेर्ट नेगेटिभ आउने छ भन्ने विश्वास लिएकाे छु ।”








