सेलीब्रेटीहरुकाे भनाइ एकातिर तर गराइ अर्कातिर – भिडियाे


काठमाडौं, ३१ वैशाख : विश्वभर महामारीकाे रुप लिइरहेकाे कोरोना भाइरसले हाम्राे मुलुक पनि आक्रान्त भैरहेकाे छ । तीव्रगतिमा काेभिड-१९ संक्रमित बढिरहेका छन् । सरकारले देशभर बन्दाबन्दी जारी राखेकाे छ । यस्ताे बेलामा सामाजिक दूरी कायम राख्न र घरबाहिर ननिस्कन सचेतना फैलाउने सञ्चारकर्मी तथा कलाकारहरु आफै भने लकडाउन विपरित पार्टीमा मस्त देखिन्छन् । चर्चित सञ्चारकर्मी रवि लामिछाने, चर्चित हास्यव्यंग्य कलाकार तथा फिल्म निर्माता दीपकराज गिरी, दिपाश्री निरौला र नायिका पूजा शर्मालगायतका सञ्चारकर्मी तथा कलाकार पार्टीमा मस्त देखिएका हुन् ।
हिजाे मंगलबार मात्रै पत्रकारलाई समेत काेराेना संक्रमण पुष्टि भैसकेकाे छ । तर, सेलीब्रेटीहरुलाई काेराेनाले छुँदैन जस्ताे गरि ग्यादरिङ गरेर चर्चित सेलीब्रेटीहरु रमाइरहेका हुन् । उक्त पार्टीमा रमाइरहेका अन्य अनुहार नेपाल चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष निकिता पौडेल, कलाकारहरु किरण केसी, अनुराग कुँवर, उत्सव रसाइली लगायत रहेका छन् ।



समसामयिक विषय र विकृतिप्रति खरो टिप्पणी गर्ने कलाकार दीपकराज गिरी आफू भने लकडाउनका बीच सामाजिक दूरीको मर्यादा बिर्सेर पार्टीमा मस्तले रमाइरहेका देखन्छिन् । न्युज २४ टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधाकुरा जनतासँग’का चर्चित सञ्चालक रवि लामिछाने उनकी पत्नी निकितासँगै उक्त पार्टीमा रमाइलो गरिरहेको भिडियोमा देखिन्छ । आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मार्फत लकडाउन पालना गर्न र कोरोना संक्रमण न्यूनीकरणका लागि ‘घरमै भएको एक थोक तरकारीको झोलसँग खाएर भए पनि सामाजिक दूरी कायम राखौँ, बाहिर नजाउँ’ भन्ने सन्देश दिने लामिछाने आफू भने पार्टीमा रमाइरहेको देखिन्छन् ।
लामिछानेले केही समयअघि सिधाकुरामा भनेका थिए, ‘बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोप संग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला ।’ तर लकडाउन नखुल्दै उनी आफू भने मीठो खान र रमाइलो गर्न पार्टीमा सरिक देखिएका छन् ।
पार्टीमा खानपानका साथै नाँचगान गरेर रमाइलाे गरिरहेकाे देखिन्छन् । साथै सामूहिक सेल्फी समेत खिचिरहेकाे दृश्य देखिन्छ । पार्टीपछि सहभागीहरू सबैलाइ नायिका पूजा शर्माले ‘आज कत्ति रमाइलो भयो’ भन्दै धन्यवाद दिएर बिदा गरेकाे देखिएबाट उनले नै उक्त पार्टी आयोजना गरेको अनुमान गर्न सकिन्छ । भिडियाेमा पनि पूजा शर्माकाे नाम ट्याग गरिएकाे छ ।
राम्राे छवि बनाइसकेका यी सेलीब्रेटीहरुकाे भनाइ एकातिर तर गराइ अर्कातिर देखिँदा समाजमा नराम्राे सन्देश प्रवाह भएकाे छ । यसबारे अहिले सामाजिक सञ्जालदेखि युटुबसम्म आलोचना र टीका टिप्पणी भइरहेको छ ।
हेर्नुस् भिडियाे








