एकैपटक स्वास्थ्यकर्मीसहित ३८ जना क्वारेन्टीनमा


काठमाडौं, १ जेठ : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका स्वास्थ्यकर्मी सहित ३८ जनालाई क्वारेन्टीनमा राखिएकाे छ । उपचाररत ६ वर्षीया बालिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक र नर्ससहित ३८ जनालाई क्वारेन्टीनमा राखिएको हाे ।
अस्पतालको न्यूरो वार्डमा राखेर नाक, कान, घाँटीको उपचार भइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकाको पिसिआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई क्वारेन्टीनमा राखिएको हो । बालिकालाई बिहीबार विहान कोरोना पुष्टि भएको थियो।



कोरोना पोजेटिभ देखिएपछि अस्पतालका चिकित्सक तथा नर्सबीच खैलाबैला मच्चिएको थियो । स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान ६ बजेर १५ मिनेटमा सार्वजनिक गरेको विवरणमा दुई संक्रमितमध्ये एकजना ती बालिका थिइन् । बिहान सार्वजनिक गरेकाे तथ्यांक अनुसार काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएकाे बताइएको थियो।
उनको उपचारमा संलग्न चिकित्सकसहित उनलाई काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टीनमा राखिएको बताइएकाे छ ।
न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।








