जाजरकाेटमा क्रियाशील ११ पत्रकारहरुको स्वाव संकलन

जाजरकोट, १ जेठ : जाजरकाेटमा क्रियाशील ११ जना पत्रकारहरुकाे स्वाव संकलन गरिएको छ । पछिल्लोपटक पत्रकारमा समेत कोभिड- १९ को संक्रमण देखिएपछि जाजरकोटका क्रियाशील पत्रकारहरुको स्वाथ्य परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा जाजरकोटमा क्रियाशील भएर काम गर्ने विभिन्न सन्चार माध्यममा कार्यरत ११ पत्रकारहरुको कोरोना भाइरस (कोभिड १९) को संक्रमण जाँच गर्न पिसीआर विधिवाट जाजरकोट अस्पतालमा स्वाव संकलन गरिएको हो ।

कोरोनाको संक्रमणको जोखिम सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सन्चारकर्मीहरुमा नै हुने भएकाले पत्रकारहरुको स्वाव संकलन गरि सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीले जानकारी दिए । उनले कोरोना संक्रमणको जोखिमका बाबजुत पनि पत्रकारले समाचार संकलनमा खटिनु पर्ने भएकोले कोरोनाको संक्रमणको अवस्था जाँच गर्न यो स्वाव संकलन गरिएको र एक दुई दिनमा यसको रिपोर्ट आउने बताए ।

स्वाव संकलन गरिएका पत्रकारहरुमा अन्नपूर्ण पोष्टका राजेन्द्र कार्की, राष्ट्रिय समाचार समितिका हेमन्त केसी, नागरिक दैनिकका जनक केसी, नेपाल टेलिभिजनका वीरवहादुर गिरी,कान्तिपुर दैनिकका भीमवहादुर सिंह, गोरखापत्र दैनिकका सहदेव वस्नेत, उज्यालो नेटवर्कका वालकुमार शर्मा, डिजिटल सन्चारका दीपवहादुर घर्ती, भिजन खवर अनलाइनका पवन शर्मा, च्वाइस खबर अनलाइनका सरोज वली र जाजरकोट एफएमका नवराज शाही रहेका छन् ।

आफ्नो ज्यान जोगाएर अरुको पनि ज्यान जोगाउने काममा सबैको सक्रियता रहनु पर्ने भएकोले पत्रकारहरुको पनि कोरोना संक्रमणको परीक्षण जरुरी रहेको नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष राजेन्द्र कार्कीले वताए । उनले पीडित जनताको सुख दु:खको खबर लिन सबैभन्दा पहिला पत्रकार नै पुग्ने भएकोले सबै प्रकारको सुरक्षा तर्फ सरकारले ध्यान दिनु पर्ने बताए ।

सम्बन्धित खवर

Back to top button