कालापानी क्षेत्रमा सशस्त्रको गस्ती, स्थानीय भए खुसी

काठमाडौं, १ जेठ : भारतले सीमा अतिक्रमण गरेर सडक बनाएको कालापानी क्षेत्रमा सशस्त्र प्रहरी नेपालले गस्ती सुरु गरेको छ । नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङरुमा बुधबार स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी)ले दुई देशबीचको सीामा वरपर गस्ती सुरु गरेको हो ।

ब्यास गाउँपालिका १ स्थित छाङरुमा स्थापना भएको बिओपीले बिहीबार प्रहरी टोली महाकारी नदी किनारा र सीमा क्षेत्र वरिपरि गस्ती गरेको जनाइएको छ । बिहीबारै सीमा जोडिएको महाकाली नदीमाथिको काठेपुल (सीतापुल) मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राईसँग भारतीय एसएसबीका प्रतिनिधिले कुराकानी गरेका छन् । कुराकानीका क्रममा छाङरुस्थित सुरक्षा निगरानी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलबहादुर चन्द पनि सहभागी रहेका थिए ।

भारतले नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी तिब्बतको मानसरोवर जाने सडक बनाउन थालेपछि सरकारले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको स्थापना गरेको हो । चौकी स्थापना भएको भोलिपल्ट सशस्त्र प्रहरीका जवनाहरुले आवश्यक हतियार र बन्दोबस्तीका सामान व्यवस्थापन गर्दै आफ्नो भूमिमा गस्ती गरेका थिए  ।  सीमा निगरानी चौकीलाई आवश्यक हतियार र सामान नेपाली सेनाको हेलिकप्टरले केही माथि झारेको कारण त्यसको व्यवस्थापन गरिएको थियो ।

कालापानी क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति देखिएसँगै स्थानीय खुसी भएका छन् भने देशवासीले यो कार्यको सम्मान गरेका छन् ।

सम्बन्धित खवर

Back to top button