शंकास्पद मृत्युकाे किटानी जाहेरी नै दर्ता भएन


जाजरकोट, २ जेठ : जिल्लाकाे बारेकोट-६, ताँसी निवासी २२ वर्षीया जेनिसा नेपालीकाे मृत्यु शंकास्पद भएकाे भन्दै दिएकाे किटानी जाहेरी नै प्रहरीले दर्ता गरिदिएकाे छैन् । अचानक २७ बैशाखमा जेनिसाकाे मृत्यु भएपछि उनका माइती पक्षले दिएकाे किटानी जाहेरी प्रहरीले दर्ता नगरिदिएकाे हाे ।
बिरामी भएकाे खबरै नपाइ एकैपटक मृत्युको खबर आएपछि माइती पक्ष झस्केका थिए । त्यो स्वभाविक मृत्यु नभइ हत्या भएको भन्दै किटानी जाहेरीका लागि बुधवार जेनिसाका माइती जिल्ला प्रहरी कार्यालय जाजरकोट पुगेको थिए । तर जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले उजुरी दर्ता नै नगरेको पीडित पक्षले बताएका छन् ।



पेट दुखेर मृत्यु भयो भनिएकी जेनिसाको शरीरमा निलडाम, मुख र नाकबाट रगत बगेको, कन्चटमा निलो दाग देखिएकाे हुँदा हत्या गरिएको भन्दै घरपरिवारको नाममा किटानी जाहेरी गर्न खोज्दा प्रहरीले दर्ता गरिदिन नमानेको मृतकका दाजु प्रवीण नेपालीले जानकारी दिए । उनले भने ‘किटानी जाहेरी नै दर्ता नगरिदिएपछि हामीले न्याय कसरी पाउँने ?’
माइती पक्षले मृतकका पति, सासु, ससूरा, नन्द सहित पाँच जनाको नाममा किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्ठले प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकोले यस विषयमा सबै कुरा भन्न नमिल्ने बताए ।
कुशे ६ नारे माइती घर भएकी नेपालीको २०७२ मंसिरमा बारेकोट ६ ताँसीका अविनास बिकसँग विवाह भएको थियो । जेनिसाका माइतीले उनी पहिले जीवित छँदा पनि घरेलु हिंसाको शिकार भएको दावी गरेका छन् ।
सम्बन्धित सामग्री पढ्नुहाेस्
https://satkarpost.com/2020/05/14/19837/
https://satkarpost.com/2020/05/10/19616/








