आज अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने


काठमाडौं, २ जेठ : आज अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाे छ । सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नेछिन् । अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा राष्ट्रपति भण्डारीद्वारा नीति तथा कार्यक्रम पेस गर्न संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको जनाइएकाे छ ।
कोरोना जोखिमका कारण भौतिक दूरी कायम राखेर सञ्चालित भइरहेको बैठकमा अधिकतम सुरक्षा विधि अपनाइएको सचिवालयको भनाइ छ। राष्ट्रपतिको आवागमनका लागि कुनै विशेष प्रबन्ध नगरिएकाे जनाइएकाे छ । सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले कोरोना जोखिमबीच हामीले अधिकतम सुरक्षात्मक विधि अपनाएर बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । दुवै सदनमा सम्बोधन भएपछि दुवै सदनका फरक–फरक बैठक बसेर धन्यवादको प्रस्ताव टेबल हुनेछ ।



सरकारले नीति तथा कार्यक्रममा कोरोना सङ्क्रमणले पारेको बहुपक्षीय असरलाई केन्द्रित गर्ने बुझिएको छ। नीति कार्यक्रम मन्त्रिपरिषद्बाट अनुमोदन भइसकेको छैन् । कोरोना जोखिमबाट परेको बहुपक्षीय असरमा नै कार्यक्रम केन्द्रित हुने जनाइएको छ। नीति तथा कार्यक्रम अनुसार सरकारले वार्षिक बजेट पेस गर्नेछ। सरकारले कोरोना जोखिमसँगै स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जनाका कार्यक्रमलाई मुख्य रूपमा नीति कार्यक्रममा अघि सार्ने तयारी गरेको छ।
हाल कार्यान्वयनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जन गर्ने तयारी पनि सरकारको छ। रोजगारी सिर्जना गर्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने र आधुनिकीकरण गर्ने नीति लिने सरकारको तयारी छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषि, सिँचाइ जस्ता क्षेत्रसँग पनि जोडेर रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ । हाल विभिन्न श्रम गन्तव्यमा रहेका नागरिकसमेत फर्कने अवस्थामा रहेकाले सरकारले रोजगारीलाई प्राथमिकतामा राखेको छ।