राष्ट्रपति र उपराष्ट्रपतिको पीसीआर रिपाेर्ट नेगेटिभ


शितलनिवासमा राष्ट्रपति भण्डारीसहित ३७ जनाको र उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट नेगेटिभ आएकाे हाे ।
काठमाडौं, २ जेठ : राष्ट्रपति र उपराष्ट्रपति दुवैजनाकाे काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ आएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हाे ।



राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयमा रहनेहरुको पीसीआर परीक्षण गरिएकाेमा सबैको रिपोर्ट नेगेटिभ आएकाे जनाइएकाे छ । शितलनिवासमा राष्ट्रपति भण्डारीसहित ३७ जनाको र उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएको थियो ।
उपराष्ट्रपतिसहित कार्यालयमा रहेका सरकारी कर्मचारी, सचिवालयका सदस्य, परिवारका सदस्य, सेना र स्वास्थ्यकर्मीसहित ६४ जनाको पीसीआर टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तीमगरले जानकारी दिए ।
सरकारको नीति तथा कार्यक्रममा सहभागी हुँदा पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने अनिवार्य गरिएकाले राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयमा रहेकाहरुको कोरोना परीक्षण गरिएको थियो । शुक्रबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन्, जहाँ उपराष्ट्रपति पुनको पनि सहभागिता रहने छ ।
यसअघि संसद सचिवालयले सांसदहरु, मर्यादापालक, कर्मचारी, सुरक्षाकर्मीलगायतको पनि कोरोना परीक्षण गराएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जनाएको छ ।








