विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, रोक्न गाह्रो हुने विशेषज्ञकाे भनाइ


दुईजनामा काेराेना पुष्टि भएकाे छ । १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्।
काठमाडाैं, २ जेठ : विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएकाे छ । बांग्लादेशकाे सानो क्षेत्रमा रहेकाे ठूलाे संख्याकाे शरणार्थी शिविरमा काेराेना संक्रमण देखिएकाे हाे ।



बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ । कक्स बजार नजिकैको यो शिविरमा साँघुरा गल्ली, भीडभाड, पानीको सीमित उपलब्धताका कारण कोरोना भाइरसबाट बच्ने उपाय पालन गर्न निकै गाह्रो छ ।
१० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्।
बांग्लादेशमा सेभ द चिल्ड्रेन्स हेल्थकी निर्देशक डा शमीम जहाँका अनुसार कक्स बजारको शरणार्थी शिविरमा कोरोना भाइरस फैलिएपछि हजारौंको ज्यान जाने खतरा देखिएको छ । उनले भनेकी छन्,‘यो महामारीले बांग्लादेशलाई दशकौं पछाडि धकेल्न सक्छ।’
कक्स बजारमा प्रति वर्ग किलोमिटर क्षेत्रभित्र ४० देखि ७० हजार मानिसको बसोबास छ । बर्मामा रोहिंग्या मुसलमानमाथि सैनिक अत्याचार हुन थालेपछि लाखौं रोहिंग्या विभिन्न देशमा शरणार्थी छन् । यसमध्ये सबैभन्दा धेरै बांग्लादेशमा छन्।