भारतबाट ८ सय बढी नेपाली स्वदेश फर्किए

नेपालगन्ज नाकाबाट ६ सय ८८ जना, भगवानपुर नाकाबाट ८९ र डुडुवा गाउँपालिकाको खडैचा नाकाबाट ४२ जना नेपाली स्वदेश फर्किएका हुन् ।

काेहलपुर, २ जेठ : भारतबाट ८ सय १९ नेपाली नागरिकहरु स्वदेश फर्किएका छन् । डेढ महिनादेखि भारतीय क्वारेन्टीनमा रहेका उनीहरुलाई बिहीबार मध्यरातमा बाँकेका विभिन्न नाकाबाट भित्र्याइएको हाे । भारतीय क्वारेन्टीनमा रहेका नेपालीले अनेकौँ कष्ट भोग्नुपरेपछि उनीहरुलाई दुवै देशको सहमतिमा नेपालगन्ज र अन्य सहायक नाकाबाट ल्याइएको हो।

नेपालगन्ज नाकाबाट ६ सय ८८ जना भित्रिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । उनका अनुसार नरैनापुरको भगवानपुर नाकाबाट ८९ र डुडुवा गाउँपालिकाको खडैचा नाकाबाट ४२ जना नेपालीलाई नेपाल ल्याएको हाे । भारतीय क्वारेन्टीनमा रहेका नेपालीलाई ल्याउँदा नेपालको क्वारेन्टीनमा रहेका भारतीयलाई लैजान सहमति भएको खड्काले बताए।

प्रजिअ खड्काले भारतको बहराइच आसपासका क्वारेन्टीनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको बताए । बाँके र बर्दिया घर भएकालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टीनमा राखिएको छ । अन्य जिल्लामा भएकालाई नेपालगन्ज भन्सार कार्यालयको यात्रु शाखाको कम्पाउण्डमा राखिएको खड्काले बताए । उनले भने,‘भारतबाट ल्याइएकालाई सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरेर पठाइने छ ।’

सीमा आसपास अलपत्र परेका दुबै देशका नागरिकको उद्धार गरि आ–आफ्नो देशमा जानदिने सहमती भए अनुसार एक हजार चार सय बढी भारतीयलाई पठाइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जनाए । बहराइच प्रहरीले नेपाल आउने सात सय १ हजार चार सय ८३ भारतीय स्वदेश फर्किएका छन्। उनीहरुलाई भारतीय निकायले आफ्नो देश लैजान सहयोग गरेकाे थियाे ।

भारतबाट ल्याइएका बाँके र बर्दियाकालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टीनमा राखिएको छ । जिल्ला अनुसारको नाम संकलन गरिसकेपछि आरडिटी जाँच गरि बाँके र बर्दियाकालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने छ। ‘बाहिरी जिल्लाकालाई सम्बन्धित जिल्लाको प्रशासनसँग समन्वय गरि जिल्ला पठाइने छ,’ एसपी ओलीले भने ।

नेपाल प्रवेश गरेका सबै नेपालीको आरडीटी जाँच शुरु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। नेपाली सेनाले स्थापना गरेको टेन्टमा आरडिटी जाँच शुरु भइसकेको उनले बताए। उनले भने,‘आरडीटी जाँचमा नेगेटिभ देखिए सम्बन्धित जिल्लामा पठाउने र पोजेटिभ देखिए थप जाँचका लागि कोरोना अस्पताल पठाउने गरि तयारी गरिएको छ।’

नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थापन गरेको महेन्द्र बहुमुखी क्याम्पसमा राखिएका बाँके र बर्दियाका सर्वसाधारणको पनि आरडीटी जाँच गरि सम्बन्धित पालिकामा पठाउने तयारी गरिएको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button