सुदूरपश्चिमका स्थानीय तहलाई भारतमा रहेका नेपालीहरुको विवरण संकलन गर्न सकस


डडेल्धुरा, २ जेठ : सुदूरपश्चिमका स्थानीय तहले भारतमा रहेका मजदुरको तथ्याङ्क समेत अझै संकलन गर्न सकेका छैनन्। भारतमा रोजगारीको सिलसिलामा रहेका पालिका भित्रका मजदुरको संख्या यकिन गरी सोही अनुसारका पूर्व तयारी गर्नुपर्ने बेला स्थानीय तहले भने उक्त काम हुन नसकेको पाईएको हो।
भारतमा रहेका मजदुहरुको विवरण संकलन गरी स्वदेश फर्किने चाहाने र उतै बस्नेहरुको संख्या यकिन गरी पूर्व तयारी गर्नुपर्ने भएपनि कतिपय स्थानीय तहहरुले भने अहिले सम्म संकलनको काम समेत थालेका छैनन्। कोरोना भाईरसको प्रभावपछि ज्यालादारी गुमाएका लाखौँ मजदुर भारतमा स्वदेश फर्किन कुरिरहेका बेला सुदूरपश्चिममा भने तथ्याङ्क संकलनकै काममा ढिलाई भईरहेको हो।



अहिले सम्म भारतमा के–कती मजदुर कार्यरत छन् भन्ने आधिकारिक तथ्याङक कुनै निकायसँग छैन्। स्थानीय तहले वडा कार्यालयहरु मार्फत संकलन गर्न सक्ने भएपनि ढिलाई भईरहेको छ। विवरण संकलन गरिएका भनिएका स्थानीय तहहरुमा समेत यकिन तथ्याङ्क तयार गर्न नसकेको देखिएको छ।
पालिकाहरुले अनुमानको भरमा तथ्याङ्क संकलन गरेर स्थानीय प्रशासनलाई पठाएका छन्। ७ स्थानीय तह रहेको डडेल्धुरामा रोजगारीका क्रममा भारतमा करिब २५ हजार जना रहेको बुझिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। उनले स्थानीय तहहरुले पठाएको तथ्याङ्क अनुसार भारतमा कुनैमा पाँच हजार त कुनैमा आठ हजार रहेको भनिरहेकाले सोही आधारमा २५ हजार जती भएको अनुमान गरिएको बताए।
तर उनीहरु मध्ये कतिजना स्वदेश फकिन्छन् भन्ने विवरण नभएको उनले बताए। उता १० स्थानीय तह रहेको अछाममा भने वडा स्तरबाट विवरण अझै संकलन हुन सकेको छैन्। यद्यपी जिल्लामा करिब ८० हजारको हाराहारीमा भारतमा रोजगारीको सिलसिलामा रहेको अनुमान गरिएको छ।
उनीहरु मध्ये स्वदेश के कती फर्किन्छन् भन्ने खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए। ‘कतिपय पालिकाले विवरण संकलन गरेका छन् कतिपयले अहिले गर्दैछन्। तर ७०/८० हजारको हाराहारीमा त्यो संख्या आउँछ।’ उनले भने। ‘सबै स्थानीय तहबाट विवरण प्राप्त भएपछि मात्र यकिन संख्या खुल्छ।’
यी दुई जिल्लामा प्रारम्भीक तथ्याङ्क संकलन गरिएको भएपनि अन्य जिल्लाका स्थानीय तहले अहिले सम्म विवरण तयार गर्न नसकेको पाईएको छ। प्रदेश सरकारको संकट व्यवस्थापन केन्द्रले समेत स्थानीय तहहरुलाई भारत तथा तेस्रो मुलुकमा रहेकाहरुको तथ्याङ्क संकलन गर्न भनेका बेला ढिलाई गरिएको हो। कतिपय जिल्लामा केही दिन भित्रै तथ्याङ्क संकलन हुने र सोही अनुसार पूर्व तयारी अपनाउने बताईएको छ।
बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिह नेगीले दोगडाकेदार गाउँपालिकाका केही वडाको विवरण प्राप्त भएपनि अन्य स्थानीय तहले तथ्याङ्क नपठाएको बताए। तर एकदुई दिन भित्रै सबै विवरण आउने नेगीको भनाई छ। सुदूरपश्चिममा अहिले सम्म आधिकारिक सीमा नाका भएर डेढ लाख बढि मानिस भित्रिएको सरकारी तथ्याङ्क छ।
तर भारतमा रहेका र फर्किन चाहानेहरुको विवरण नहुँदा उनीहरु एकैपटक फर्किए कसरी व्यवस्थापन गर्ने भन्ने योजना बन्न नसकेको हो। सीमानाका खुल्ने बेला लाखौँको संख्यामा फर्किने मजदुरको उचित व्यवस्थापन हुन नसके कोरोनाको जोखिम बढ्ने चिन्ता गरिदै आएको छ। उक्त विषयमा प्रदेश सरकारले चाल्ने अगामी कदमका विषयमा प्रतिक्रिया लिन संकट व्यवस्थापन केन्द्रका उप–सचिव रामदत्त पाण्डेलाई पटक–पटक सम्पर्क गर्दा समेत उनको फोन उठेन।