मृतक महिलाकाे घर र माइती गाउँ सिल


काठमाडाैं, ३ जेठ : श्वासप्रश्वासमा समस्या भएर धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै निधन भएकी महिलाको घर तथा माइती गाउँमा सिल गरिएको छ। शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नगरपालिका-९ की २९ वर्षीय महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको निचोडसहित गाउँ नै सिल गर्ने निर्णय गरिएकाे हो । उनको स्वाब जनस्वास्थ्य प्रयोशालामा परीक्षण भइरहेकाले सम्भावित सङ्क्रमणई रोक्न उक्त गाउँ सिल गरिएको हो ।
मृतक महिलाका परिवारका सबै सदस्यको स्वाब पनि संकलन गरिएको छ । उनको शव धुलिखेल अस्पतालमै राखिएको छ । नपाको वडा नं ९ तथा बलेफी गाउँपालिका वडा नं ८ र ९ सिल गरिएको छ । ती महिलाको माइती बलेफी-९ मा पर्ने हुँदा उक्त क्षेत्र पनि सिल गरिएको हो। उक्त सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिइने भएको छ।



सिल गरिएका ठाउँका स्थानीयलाई घर बाहिर निस्कन नदिइने बताइएकाे छ । त्यस क्षेत्रकाे सुरक्षा व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपलाी सेनासमेतलाई जिम्मा दिइएको छ । ती महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई कन्ट्रयाक्ट ट्रेसिङ गरी पिसीआर परीक्षणका लागि क्वारेन्टीनमा राखी स्वाब संकलन गरिने समितिको बैठकले निर्णय गरेको छ।
बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिने भएको छ । ती महिला उपचारका लागि त्यहाँ गएको हुनाले उक्त केन्द्र सिल गरिने भएको हो ।