भारतमा मे ३१ सम्म लकडाउन लम्ब्याउने निर्णय


काठमाडौं, ४ जेठ : कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि भारतले लकडाउन मे ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ । भारतले चाैथाे चरणमा मे ३१ सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो । भारतमा निरन्तर कोरोना भाइरसको संक्रमण बढेसँगै भारतले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै मुलुकमा लकडाउन बढ्ने घोषणा गरे पनि त्यहाँकाे डिजास्टर म्यानेजमेन्ट अथोरिटी (एनडीएम) ले लकडाउन मे ३१ सम्म लम्ब्याउन निर्देशन दिएको हो ।



यससँगै भारतको गृह मन्त्रालयले पनि यो चरणको लकडाउनको लागि दिशानिर्देश पनि जारी गरेको छ । जसअनुसार मे ३१ सम्म सबै घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द रहने उल्लेख छ ।
साथै मेट्रो रेल सेवा पनि बन्द रहने र बेलुकाको ७ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू जारी रहने बताइएको छ । भारतमा अहिलेसम्म ९० हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको सं’क्रमण पुष्टि भइसकेको छ । दुई हजार आठ सय ७२ जनाको मृ’त्यु भएकाे छ ।