कर्णाली प्रदेशलाई एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग
काठमाडौं, ५ जेठ : पूर्वसांसद राजीव विक्रम शाहले कर्णाली प्रदेशकालाई १ करोड बराबरको स्वास्थ्य सामग्री दिने घोषणा गरेका छन् । जाजरकोटका पूर्वसांसद शाहले कोरोनाका सम्भावित बिरामीको उपचार लागि भेन्टिलेटरसहित एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गर्न लागेका हुन् ।
पूर्वसांसद शाहले मुख्यगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रादेशिक अस्पताल सुर्खेतलाई केन्द्रविन्दुमा राखेर सहयोग गर्न लागेको बताए छन् । उनले प्रदेश अस्पताल सुर्खेतलाई एउटा भेन्टिलेटर र झण्डै सत्तरी लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री तथा अन्य जिल्लाका अस्पतालहरुलाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने जानकारी गराए ।
कुमारी ट्रष्टका अध्यक्षसमेत रहेका पूर्वसांसद शाहले जिल्ला अस्पतालका डाक्टरहरुसँग सल्लाह गरेर स्वास्थ्य सामग्रीहरु प्रदान गर्न लागिएको बताएको छन् । शाहले भने, ‘जिल्ला अस्पतालको आवश्यकताअनुसार प्रत्येक जिल्लाहरुमा फरक–फरक सामानहरु छन् । केही जिल्ला अस्पतालहरुले सुत्केरीको लागि बेडहरु माग गर्नु भएको छ भने केहीले अक्सिजन आवश्यक परेको भन्नु भएको छ ।’ उनले आफूले दिने सामाग्रीहरु कोरोनाविरुद्ध लड्नका लागि मात्र नभइ दीर्घकालसम्म उपयोगी हुने विश्वास लिएको बताए । यी सामग्रीले सरकारलाई समेत सहयोग पुग्ने उनको विश्वास छ ।
शाहका अनुसार ट्रस्टले अहिले एउटा भेन्टिलेटरसहित ५ वटा आईसीयु बेड सुर्खेतस्थित प्रदेश अस्पतालमा तयार पार्दै छ । त्यहाँका सामग्रीहरु स्वर्गीय प्रभाकर शमशेर राणाकी छोरी मायाले आफ्नो बुवाको वर्ष दिनको पुण्य तिथिको अवसर पारेर कुमारी ट्रस्टसँग सहकार्य गरी लगेको अध्यक्ष शाहले जानकारी दिए ।
पूर्वसांसद शाह समाजसेवामा सक्रिय छन् । उनकै पहलमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ५ बडावनमा सुविधा सम्पन्न सामुदायिक अस्पताल भवन निर्माण गरिएको छ । ६ करोड लगानीमा निर्मित उक्त अस्पताल २५ शय्याको छ । सामुदायिक अस्पताल निर्माणका लागि छेडागाड नगरपालिका वडा नं. ५ बासिन्दाले ५ रोपनी जग्गा निःशुल्क दिएका छन् । जाजरकोटमा झाडापखालाको प्रकोप फैलिएको बेला होस् वा बस दुर्घटनामा परेको बेला होस् उनले व्यक्तिगत पहलमा हेलिकोप्टरमार्फत् धेरैलाई उद्धार गरेका थिए ।
कर्णाली प्रदेशमा सुविधाका हिसावले हेर्ने हो भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रादेशिक अस्पताल सुर्खेत छन् । प्रदेश अस्पताल सुर्खेतमा ५ वटा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ वटा र जिल्ला अस्पताल दैलेखमा एउटा गरी कर्णाली प्रदेशभर ११ वटा भेन्टिलेटर रहेको प्रदेश अस्पतालका वरिष्ठ डाक्टर रविन खड्काले बताए । उनका अनुसार कर्णाली प्रदेशभर १७ वटा आईसीयु बेड छन् ।