३ वर्षको बच्चासहित २५ जनामा कोरोना पुष्टि, समाचार दिँदा हतार नगरौँ : मन्त्रालय

काठमाडाैं, ७ जेठ : बुधबार थप २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले तीन वर्षका बच्चासहित २५ जनामा सङ्क्रमण पुष्टि भएको बताएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय २७ पुगेको छ । बुधबार देखिएका सङ्क्रमित तीनदेखि ४८ वर्ष उमेर समूहका छन् । सङ्क्रमितमध्ये सात जना महिला र १८ जना पुरुष छन् ।

कपिलवस्तुका ३ वर्षका बालक पनि सङ्क्रमित भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उनका अनुसार बाँकेमा नरैनापुर र खजुराका गरी ६ पुरुष सङ्क्रमित भएका छन् ।

त्यस्तै धनकुटामा पाँच, कपिलवस्तुमा बालबालिका र महिलासहित १३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने नवलपरासी पश्चिममा क्वरेन्टीनमा रहेका एक जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा अहिलेसम्म ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएकाे छ । कोरोना सङ्क्रमण कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ भने ४५ जना उपचारपछि निकाे भएका छन् ।

समाचार दिँदा हतार नगरौँ : मन्त्रालय

यसअघि काेराेनाका कारण ज्यान गुमाएका भनिएका गुल्मीकाे एक जनाकाे रुपन्देहीकाे क्रिमसन अस्पतालकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ ।

बिरामीकाे स्वास्थ्य अवस्था गम्भीर रहेको तर भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बिरामीको बारेमा केही सञ्चारमाध्यमले अपुष्ट खबर जथाभाबी सम्प्रेषण गरेकाे भन्दै यस्तो संवेदनशील विषयमा संयमता अपनाउन आग्रह गरेका छन् ।

गएको १ गतेदेखि क्रिमसन अस्पतालमा गुल्मी मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुषको उपचार भइरहेको छ ।

यसअघि अस्पताल प्रशासनले पनि विज्ञप्ति निकालेरै गलत र भ्रामक खबर नछाप्न तथा त्यस्ता समाचारकाे पछि नलाग्न आग्रह गरेकाे थियाे ।

सम्बन्धित खवर

Back to top button