काभ्रेमा जिप दुर्घटना : सुनकाेशीमा २ बेपत्ता


काठमाडौं, ७ जेठ : काभ्रेमा जीप दुर्घटना हुँदा दुईजना बेपत्ता भएकाे छन् । भुम्लु गाउँपालिका–८, सिलामे भीरमा बोलेरो जीप दुर्घटना हुँदा दुईजना बेपत्ता भएका हुन् ।
दोलालघाटबाट चौरीदेउरालीका लागि छुटेको बोलेर उकालोमा ब्रेक फेल भएर पछाडि सर्न थालेपछि हामफालेका व्यक्ति बेपत्ता भएका हुन् ।



काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलका अनुसार, खाद्यान्न लिएर गएको बोलेरोमा तीन जना यात्रु थिए । तीमध्ये दुई जना मात्र हामफालेका थिए । बोलेरोभित्रै बसेकी महिलाको अवस्था सामान्य छ ।
पौडेलका अनुसार केही तल पुगेर बोलेरो रोकिएको थियो । हामफाल्ने दुई जना भने सुनकोशी नदीमा खसेका छन् । उनीहरुको खोजी कार्य जारी रहेकोमा अहिले रातपरेपछि प्रहरी फर्किएकाे छ । भाेलि खाेजी कार्य हुने बताइएको छ ।








