संविधान संशोधन गर्ने सरकारकाे निर्णय
काठमाडाैं, ९ जेठ : सरकारले जारी गरेकाे नयाँ नक्सा कार्यान्वयनमा ल्याउन संविधान संशाेधन गर्ने निर्णय गरेकाे छ । आज शुक्रबार भारतले अतिक्रमण गरेको नेपाली भूमिसहित बनेकाे नयाँ नक्सा कार्यान्वयनमा ल्याउन सरकारले संविधान संशोधन गर्ने निर्णय गरेकाे हाे ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको हाे। बैठकले जेठ १३ गतेको संसद बैठकअघि नै संविधान संशोधन गर्ने प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो।
सरकारले तीन दिन अघि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियाे । जारी गरेको उक्त नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन प्रस्ताव संसदमा लाने निर्णय भएको हो । संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गरेपछि नेपालको नयाँ नक्सा पूर्ण रूपमा कार्यान्वयन हुनेछ।