छाङरुमा सशस्त्र प्रहरीकाे आफ्नै भवन बन्दै
काठमाडौं, ९ जेठ : कालापानी क्षेत्रकाे छाङरुमा सीमा सुरक्षाका लागि नेपाल सशस्त्र प्रहरीकाे आफ्नै भवन बन्ने भएकाे छ । दार्चुलामा सशस्त्र प्रहरीको आफ्नै भवन बनाउने प्रक्रिया अघि बढेको छ । अहिले व्यक्ति घर भाडामा लिएर बसेकाेमा दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी पोस्ट स्थापना गर्न गृह मन्त्रालयले टेण्डर आह्वान गरेको हो ।
सरकारले छाङरुमा सशस्त्रको पोस्ट निर्माणका लागि ११ करोड रुपैयाँसमेत विनियोजन गरिसकेको छ । सशस्त्र प्रहरी अहिले व्यक्तिको घर भाडामा लिएर बस्दै आएको छ।
भारतले नेपाली भूमि अतिक्रमण गरेर एकलौटी ढंगले मानसरोबर जाने सडक बनाएपछि त्यस क्षेत्रको सुरक्षाका लागि गत वैशाख २१ गतेदेखि बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरी सशस्त्र प्रहरी त्यस क्षेत्रमा तैनाथ रहेकाे छ । अहिले सशस्त्रको बिओपी पोस्ट भारतले अतिक्रमण गरी निर्माण गरेको सडकभन्दा १३ किलोमिटर वरै छ ।
छाङरु बिओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली तैनाथ छ । त्यस क्षेत्रमा नेपाल प्रहरीको २१ जनाको टोली भने पहिलेदेखि नै तैनाथ रहेको गृह मन्त्रालयले जनाएको छ । नयाँ बन्न लागेको सशस्त्रको बिओपी पोस्टको भवन डेढसय प्रहरी बस्न मिल्ने सुविधासम्पन्न बनाइने जनाइएको छ।
नयाँ भवन निर्माण भएपछि त्यस बिओपीमातहत भारत र चीनको सीमा नाकाको सुरक्षा गर्नेगरी थप दुई पोस्ट पनि स्थापना हुनेछन् । दुईवटा पोस्ट स्थापनाका लागि गृहले ठाउँसमेत पहिचान गरिसकेको छ ।
एउटा पोस्ट कालापानीनजिकै कौवामा बस्नेछ भने अर्काे पोस्ट चीनसँगको सिमाना तिंकरमा बस्नेछ। थप दुईवटा बिओपी पोस्ट स्थापना गर्न गृह मन्त्रालयले जग्गा अधिग्रहण गर्ने प्रक्रिया पनि अघि बढाइसकेको जनाएको छ।