हिरासतमा रहेका कैदीमा कोरोना संक्रमण, जिल्ला प्रहरी कार्यालय बैतडी सिल
बैतडी, ९ जेठ : बैतडीका एकजनाको कोरोना पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
शिवनाथ गाउँपालिका २ का ती पुरुष गत चैत ६ गते भारतको नयाँ दिल्लीबाट स्वदेश आएका बताइएको छ । शिवनाथ गाउँपालिका ४ की १९ बर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका युवामा कोरोना पुष्टी भएको हो ।
ती युवकको धनगढीमा थ्रोट स्वाब परीक्षणपछि कोरोना संक्रमण पुष्टी भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी सिल गरिएको छ ।
संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको छ । यस्तै कन्ट्याक्ट ट्रेसिङको काम समेत शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।
सुदूरपश्चिममा डडेल्धुराका १ जना सहित ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । डडेल्धुरा १ र कैलाली ३ जनामा पनि कोरोना पुष्टी भएको हो । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० पुगेको छ । ५ जना निको भएर फर्किसकेका छन् भने ५ जनामा आज संक्रमण पुष्टी भएको हो ।