कालापानी क्षेत्र नेपालकै हिस्सा हाे – भारतीय वरिष्ठ पत्रकार बर्मा

काठमाडौं, ९ जेठ : एकजना भारतीय वरिष्ठ पत्रकारले कालापानी क्षेत्र नेपालकै रहेकाे बताएका छन् । भारतीय अति’क्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको मत वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले आजतकमार्फत सार्वजनिक गरेका हुन्।

नेपालले नयाँ नक्सा जारी गरेपछि चर्किएको विवादबीच भारतीय वरिष्ठ पत्रकार बर्माले कालापानीसहितको भूभाग नेपालकै भएको चर्चित टेलिभिजन आजतकअन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवादमा बताएका हुन्।

यो विषयलाई दुवै देशले वार्ता गरेर समधान गर्न सकिने पनि उनले बताएका छन्। ‘कालापानी नेपालको हिस्सा हो,’ पत्रकार बर्माले भनेका छन्,’ सन् १९६२ मा चीनसँग युद्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो,’ उनले भने, ‘तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिले अवस्था जटिल भएको हो।’

कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच पुरानो विवाद रहेको समेत उनले बताएका छन् । यो विषय बारम्बार चर्चामा रहेको उनले बताए । ‘दुवै देशका सरकारले यसको समाधानका लागि विलम्ब गरेका छन,’ उनले भनेका छन्,’ वार्तामा बसेर यसको समाधान गर्नुपर्छ । नेपालको जमीन भारतले लिन चाहँदैन । भारत एउटा ठूलो राष्ट्र हो।’ भारतले हेपाहा व्यवहार गरिरहे नेपाल कतै ढल्किन सक्ने पनि उनले बताएका छन् ।

‘नेपाल चीनतर्फ ढल्किरहेको भारतले सोचेको छ,’ उनले भनेका छन्,’ दुवै छिमेकी राष्ट्र हुन् । चीन र भारत । भारतले सधैँ यस्तो व्यवहार गरेमा नेपालले सहयोगको लागि कतै न कतै हात फैलाउनुपर्ने अवस्था आउँछ।’ आजतक रेडियोको उक्त पोडकास्टमा नेपाली भूमिमा भारतीय सैनिक बसेकाले अब यसलाई वार्ताद्वारा समाधान गर्नुपर्नेमा जोड दिइएको छ । यदि भारतले ढिला गरे नेपाल चीनको पोल्टामा पुग्ने चिन्ता पनि जाहेर गरिएको छ।

सम्बन्धित खवर

Back to top button