बेलहिया नाका हुँदै भारतबाट फर्किए १२ सय नेपाली

बुटवल, १० जेठ : भारतबाट आएका १२ सय जना नेपाली रुपन्देहीकाे बेलहिया नाकाबाट देश भित्रिएका छन् । शुक्रबार राती भारतको नौतनवाका विभिन्न क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेर नाकामा आइपुगेका विभिन्न जिल्लाका नेपालीलाई बेलहिया नाकाबाट नेपाल भित्र्याइएको हो ।

स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै सयौं नेपालीले बिहीबार राति बेलहिया नाकामा आएर नाराबाजी गरेका थिए । शुक्रबारदेखि शुरु प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो वैठकमा विपक्षी दलका सांसदहरुले भारतीय सीमा क्षेत्र र विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन नसकेको भन्दै प्रदेश र संघीय सरकारको चर्को आलोचना गरेका थिए ।

‘शुक्रबार साँझ र राति गरी एघार सय ८५ जना नेपालीलाई रुपन्देही भित्र्यायौं’–रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘चार सय ३० जना रुपन्देहीकै पालिकाका क्वारेन्टाइनमा बसेका छन्, बाँकी सबै नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, सर्लाही, झापा, धादिङ जिल्लाका स्थानीय तहले लिएर जानुभयो ।’

लकडाउनको समयमा भारतका विभिन्न ठाउँबाट नेपाल आउन लागेका उनीहरूलाई बेलहिया नाकाबाट फर्काएर भारतको नौतुनाको क्वारेन्टाइनमा राखिएको थियो ।

भारतले रेल सेवा शुरु गरेपछि हरेक दिन सात–आठ सयको संख्यामा नेपालीहरु बेलहिया नाका आउन थालेको प्रजिअ पन्थले बताए । अहिले रुपन्देहीका १६ स्थानीय तहका क्वारेन्टाइनमा देशका ५२ जिल्लाका करिब चारहजार जना क्वारेन्टाइनमा बसेका छन् ।

तीमध्ये अधिकांश भने रुपन्देहीकै छन् । भारतले लकडाउनकै बीचमा रेल सेवा शुरु गरेपछि भारतका विभिन्न राज्यबाट बेलहिया नाका हुँदै घर फर्कनका लागि दैनिक सात–आठ सय नेपाली सुनौली नाकामा आउने गरेका रुपन्देही प्रमुख एसपी हेमकुमार थापाले बताए ।

विदेशमा रहेका आफ्ना नागरिकको तथ्यांक हेरेर सोही अनुसार स्थानीय तहहरुले बेलैमा पर्याप्त क्वारेन्टाइन व्यवस्था नगर्दा नेपालीहरु भारतमै अलपत्र पर्नुपर्ने वाध्यता रहेको छ । क्वारेन्टाइन व्यस्थापन भएपछि मात्र स्थानीय तहहरु आफ्ना नागरिकलाई लिन सीमा क्षेत्रमा आउने गरेका प्रहरी प्रमुख थापाले खुलाए ।

सम्बन्धित खवर

Back to top button