एकैदिन ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ जेठ : नेपालमा एकैदिन ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित फेला परेका जिल्लाहरुमा कपिलवस्तु, रौतहट, सप्तरी, धनुषा, बारा, बाँके, बर्दिया, दैलेख, अछाम र काठमाडौं रहेका छन् । अछाममा पहिलो पटक कोरोना संक्रमित देखिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रौतहटमा २६, बारामा २५, धनुषा, कपिलवस्तु र काठमाडौंमा तीन/तीनजनामा संक्रमण देखिएको बताए । यस्तै, बाँके र बर्दियामा चार/चारजना, दैलेखमा सात, सप्तरीमा दुई र अछाममा एक गरी कुल ६ सय ८२ जनामा संक्रमण भेटिएको हो ।

वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टि मन्त्रालयले गरेको छ । जेठ २ गते अस्पताल भर्ना भएका उनको ४ गते नै मृत्यु भएको थियो ।

क्षयरोगका समेत बिरामी रहेका उक्त वृद्धको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, वीरगन्जको नारायणी अस्पतालबाटै १८ जना कोरोनामुक्त भइ घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको संख्या १११ पुगेको छ ।

सम्बन्धित खवर

Back to top button