सामाजिक सुरक्षाभत्ता नकाटिने


काठमाडौं, १२ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रबासीलाई सम्बोधन गर्दै सामाजिक सुरक्षा भत्ता कटौती नगरिने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले कोरोनाको संकटपूर्ण अवस्थामा अपाङ्गता भएका वा अन्य कसैको पनि सामाजिक सुरक्षा भत्ता नकाटिने बताएका हुन्।
‘यस अप्ठ्यारो समयमा अपाङ्गता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती गरिने छैन’, उनले भने, ‘सामाजिक सुरक्षाको दायरा फराकिलो पारिनेछ। योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ, यस प्रणालीमा आबद्ध सबै श्रमिकको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिनेछ।’



ओलीले कोरोना संकटका कारण घर फर्किनेहरुको संख्या बढेको बताउँदै उद्धारलाई तीव्रता दिइने पनि बताएका छन्। ‘अहिले मुलुक बाहिर रहेका नेपालीहरुको घर फर्किने क्रम बढेको छ । मैले नेपालीहरू ठूलो संख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग गम्भीर संवाद गरेको छु’, उनले अगाडि भने, ‘नेपालीहरूको अप्ठ्यारोमा सहयोग गर्न मैले गरेको आग्रहमा उहाँहरूले निश्चिन्त रहन आश्वस्त पार्नुभएको छ। म उहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु।’
ओलीले विदेशमा अलपत्र नेपालीलाई घर फर्काउने प्रयोजनमा पनि सरकारले काम गर्ने बताए। ‘कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना’, सहितको आदेश तत्काल जारी गरिने छ’, उनले भने, ‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीलाई सरकारले समयमै उद्दार गर्छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ।’
ओलीले सरकार आफ्ना नागरिकप्रति संवेदनशील रहेको बताउँदै यसमा निश्चिन्त रहन पनि आग्रह गरेका छन्। ‘विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो’, उनले भने, ‘तर छिमेकी मित्र राष्ट्र भारतबाट अधिकांश घर फर्किने नियमको पालना र परीक्षणबिनै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ। परीक्षणको अभावमा महामारी तीव्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ।’








