साेती घटनामा बेपत्ता भएका थप एकजनाकाे शव भेटियाे


जाजरकाेट, १५ जेठ : साेती घटनामा बेपत्ता भएका थप एकजनाकाे शव भेटिएकाे छ । रुकुमपश्चिमको चौरजहारी -८ सोतीमा शनिबार भएको घटनामा परि बेपत्ता भएका भेरी नगरपालिका -४, का १९ वर्षीय सञ्जु विकको शव ६ दिनपछि बिहीबार फेला परेको हाे ।
विकको शव घटनास्थल देखि करीव ४० किलोमिटर तल छेडागाड नगरपालिका -१३ कालाभीर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिए । सञ्जुको शव स्थानीयले फेला पारेपछि मुचुल्काका लागी प्रहरी घटना स्थलतर्फ गएको डिएसपी श्रेष्ठले जानकारी दिए ।



सञ्जुकाे शव भेटिएसँगै मृतकको संख्या पाँच पुगेको छ । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही अझै बेपत्ता छन् । यसअघि भेरी नगरपालिका -४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका -११ का लोकेन्द्र सुनार र चौरजहारी -१ का टीकाराम सुनारको शव फेला परिसकेकाे थियाे ।
केटी भगाउन १० जेठमा जाजरकोटबाट गएका नवराज सहितका १९ जनालाई सोतीका स्थानीयले आक्रमण गरेका थिए । मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन जाँदा युवतीको घर नपुग्दै आक्रमण भएको थियो । घेराबन्दी गरेर आक्रमण गरेका स्थानीयले कुटपिट गर्नुका साथै कतिपयलाई नदीमा होमिन बाध्य बनाएका थिए । पीडित पक्षले वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । १२ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालिसकेको र अन्यको खोजी भैरहेको जनाएको छ ।








