साेती घटनाबारे उच्चस्तरीय छानबिन समितिले काम थाल्यो

जाजरकोट, १६ जेठ : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएकाे घटनाकाे सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति जाजरकाेट पुगेकाे छ । बर्बरतापूर्ण तरिकाले नवराज विकसहित छ जनाकाे हत्या गरिएकाे चारैतिरबाट दबाब आउन थालेपछि उक्त घटनाकाे सत्यतथ्य बुझ्न उच्चस्तरीय छानबिन समिति जाजरकाेट पुगेकाे हाे ।

शुक्रबारदेखि काम थालेको उच्चस्तरीय समितिले पीडितपक्षसँग भेटघाट गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। उक्त छानविन समितिले भेरी नगरपालिका–४ का सन्जु भनिने सञ्जीव विकको शवबारे स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्यायन गरेको छ ।

घटनाबारे सदनदेखि सडकसम्म चर्को दबाब परेपछि सरकारले गृहमन्त्रालयका सह–सचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । दलित भएकै कारण उपल्लो जातको केटी बिहे गर्न जाँदा मारिनुपर्ने अवस्थाको कहिले अन्त्य हुने भन्दै उक्त घटनाबारेमा छानविन गर्न चौतर्फी दबाब परेको थियो। सरकारद्वारा गठिन समितिले बिहीबार जाजरकोट आएर काम थालेको हो।

उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र रुकुम पश्चिम, चौरजहारीका टीकाराम सुनारको शव भेरी नदीमा फेला परेकाे थियाे । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही अझै बेपत्ता छन्।

उच्चस्तरीय समितिले आज दलित अधिकारकर्मी संघ र संगठनले निष्पक्ष छानविनका लागि ६ बुँदे ज्ञापनपत्र संयोजक बस्नेतलाई बुझाएको अधिकारकर्मी पार्वती विकले बताइन् । उक्त ज्ञापन पत्र बुझदै संयोजक बस्नेतले सरकारले दिएको म्याण्डेटका आधारमा काम हुने बताए ।

उनले तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने समेत बताए । गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तिबहादुर बस्नेतले मृतकप्रति श्रदाञ्जली व्यक्त गरेको उनले बताए । हराएकाहरुको खोजी कार्य निरन्तर चलिरहने सन्देश पठाएको पनि संयोजक बस्नेतले जानकारी दिए। मृतकको शव हेरेर मात्रै अनुसन्धान गर्न पीडित परिवारको माग छ । त्यही अनुसार अनुसन्धान थालिएको उनले जानकारी दिए।

आज नै उक्त टोली रुकुम पश्चिम चौरजहारी नगरपालिका –८ सोतीमा जाने प्रजिअ पन्तले जानकारी दिए । उच्चस्तरीय समितिमा गृहमन्त्रालयका सहसचिव बस्नेत, नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल छन्।

सम्बन्धित खवर

Back to top button