हामी भारतसँग औपचारिक वार्ताको मिति पर्खिरहेका छौं : परराष्ट्र मन्त्री ज्ञवाली


काठमाडौं, १६ जेठ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्याबारे भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको बताएका छन् ।
भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले विरोध गरेको छ भने लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नेपालको नयाँ राजनीतिक नक्सा बनाएको छ । भारतले यो नक्सा स्वीकार्य नहुने बताएको छ र कूटनीतिक संवादबाट समस्या सामाधान गर्न आग्रह गरेको छ ।



परराष्ट्रमन्त्री ज्ञवालीले पनि वार्ताबाटै समस्या समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । संसदको राज्य व्यवस्था समितिको बैठकमा मन्त्री ज्ञवालीले भने, ‘अहिले औपचारिक वार्ताको ठोस मिति र मोडालिटी तय भइसकेको छैन । हामी निरन्तर टचमा छौं ।’
उनले अघि भनेका छन्, ‘हामीले वार्ताको औपचारिक डेट (मिति)को प्रतीक्षा गरिरहेका छौं ।’








