एकैदिन झापामा २८ र राैतहटमा ५६ जनामा कोरोना संक्रमण

काठमाडाैं, १६ जेठ : शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोा संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार कोशीमा परीक्षण गर्दा २७ जनाको पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएकाहरु झापाको दक्षिण कचनकवल गाउँपालिकाका हुन ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा भद्रपुरका एक पुरुषमा संक्रमण देखिएको हो ।

शुक्रबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ मा संक्रमितको संख्या १५८ पुगेको छ । कचनकवलमा मात्र एकसयजनामा संक्रमण पुष्टि भएको छ ।

बिहीबार मात्र कचनकवलमा २५ जनामा संक्रमण पुष्टि भएको थियो । भद्रपुरमा भने पहिलो संक्रमण देखिएको हो ।

रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण

शुक्रबार नै रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुष्टि गरे ।

प्रजिअ घिमिरेका अनुसार राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।

संक्रमण पुष्टि भएका सबै जनालाई गरुडास्थित विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए । शुक्रबार भेटिएका सबै संक्रमित भारतका विभिन्न सहरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको उनले बताए ।

सम्बन्धित खवर

Back to top button