क्वारेन्टीन बनाउँन लागेकाे भन्दै स्थानीय भत्काए विद्यालय


जाजरकोट, १६ जेठ : जिल्लाकाे एक विद्यालयलाई क्वारेन्टीन बनाउँन लागेकाे भन्दै स्थानीयले भत्काइदिएका छन् । भारतबाट आएकाहरुलाई विद्यालयको भवनमा राख्न थालेको भन्दै भेरीनगरपालिका- ६, भेरेका स्थानीयले विद्यालय नै भत्काइदिएका हुन् ।
कोरोना संक्रमण रोक्नका लागि भेरी नगरपालिकाको निर्णयअनुसार भारतलगायतका मुलुकबाट उद्धार गरि ल्याइएकाहरुलाई विद्यालयलाई क्वारेन्टीन बनाइ राख्न आवश्यक तयारी थालिएपछि कृष्ण प्राथमिक विद्यालयकाे भवन केही शिक्षक र स्थानीय मिलेर भत्काइदिएका हुन् ।



वडाध्यक्ष सशी बुढाका अनुसार भारतबाट आएकालाई नजिक राख्दा कोरोना सर्ने भन्दै स्थानीय लक्ष्मी माध्यमिक विद्यालय भेरेमा कार्यरत शिक्षक जयबहादुर शाही लगायतका केही स्थानीयले विद्यालय भवन पुरै भत्काइदिएका छन् ।

मानिसको वस्ती भएको स्थानमा क्वारेन्टीन बनाएर कोरोना सार्न लागेको भन्दै उनीहरुले हातहतियारसहित आएर विद्यालय छानो र पर्खाल सबै भत्काइदिएको वडाध्यक्ष बुढाले बताए ।
अधिकांश गाउँलेको सहमति, वडास्तरीय कोरोना रोकथाम समितिको निर्णय र नगरकार्यपालिकाको निर्देशनअनुसार आफूहरुले उक्त विद्यालयलाई क्वारेन्टीन बनाइ उद्धार गरिएका स्थानीयलाई राख्न खोज्दा शिक्षक शाही, स्थानीय नैनबहादुर वली, डम्बर वली, ललिता वली, गम्बर वली र बले घर्तीलगायतले विद्यालय भवन भत्काइदिएपछि बाहिरबाट आएका नागरिकलाई व्यवस्थापन गर्न समस्या भएकाे वडाध्यक्ष बुढाले बताए ।
विद्यालय भत्काएको बारे सोधपुछ गर्न खोज्दा उनीहरुले आफूलाई ज्यान मार्ने धम्की दिएको समेत वडाध्यक्ष बुढाले बताए ।

भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउने, महाविपत्तीको बेला स्थानीय सरकारको काममा अवरोध पुर्याउने र अराजकता देखाउनेमाथि कडा कारबाही हुने बताए । नगर प्रमुख घर्तीले विद्यालय भवन भत्काउने र क्वारेन्टीन बनाउन अवरोध गर्ने जो सुकै भएपनि कारबाही गरिने बताए छन् ।








