पुनर्निर्माण सम्बन्धी नयाँ मापदण्ड

काठमाडौं, १७ जेठ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काम सम्पन्न गर्नका लागि नयाँ मापदण्ड तयार पारेको छ । कोरोना भाइरस संंक्रमणको जोखिम कायम रहेकोले पुनर्निर्माणका काम गर्दा पालना गर्नुपर्ने अनिवार्य मापदण्ड तयार पारेको हो ।

प्राधिकरणले तयार पारेको मापदण्डलाई कार्यकारी समितिको बैठकले स्वीकृत गरेसँगै पालना गर्नुपर्ने भएको छ । मापदण्डमा निजी आवास, स्वास्थ्य, शिक्षा, सम्पदा लगायतका क्षेत्रमा बाँकी रहेका पुनर्निर्माणका काम गर्दा उच्च सर्तकता अपनाउनुपर्ने उल्लेख छ ।

साथै कार्यस्थल व्यवस्थापन, सामग्री आपूर्ति, जनशक्तिको कार्य व्यवस्थापन, स्थानीय प्रशासन, पालिका र अन्य सरोकारवाला पक्षको भूमिकालाई पनि समेटिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मापदण्ड तयार भएकाले अब पुनर्निर्माणका कामहरु अघि बढाउन सहज हुने बताए ।

मापदण्ड अनुसार पुनर्निर्माणका काम गर्दा सम्बन्धित निर्माण व्यवसायी वा उपभोक्ता समितिले उपलब्ध भएसम्म कार्यस्थल रहेको बस्ती र वडा, पालिका या जिल्लाभित्रकै जनशक्ति प्रयोग गर्नुपर्नेछ । सम्बन्धित पालिका भन्दा बाहिरका जनशक्ति परिचालन गर्दा भने वडा कार्यालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ ।

कामदारलाई काममा लिनु अघि स्थानीय स्तरमा उपलब्ध भएको स्वास्थ्य परीक्षणबाट कोरोना भाइरसको लक्षण नभएको कुरा यकीन गर्ने, परीक्षणको विवरण राख्ने, कामदारलाई कार्यस्थल वा कार्यस्थल नजिक अस्थायी बसोबासको व्यवस्था गर्नुपर्नेछ । कामदारहरु सुपरिवेक्षकको अनुमतिबिना कार्यस्थलबाट अन्यत्र आफूखुशी हिंडडुल गर्न नपाउने लगायतका व्यवस्था गरिएको छ ।

सम्बन्धित निर्माण व्यवसायी र उपभोक्ता समितिले हरेक कामदारलाई सङ्क्रमण जोखिमबाट बच्ने उपायहरुको बारेमा स्पष्ट पार्न काममा लगाउनुपूर्व कोरोना भाइरस सम्बन्धी सामान्य जानकारी, भाइरस सङ्क्रमण हुने प्रक्रिया, सङ्क्रमित व्यक्तिमा देखा पर्न सक्ने लक्षण र सङ्क्रमण जोखिम रोकथाम र नियन्त्रण सम्बन्धमा अपनाइनुपर्ने उपायहरुबारे जानकारी गराउनु पर्नेछ ।

मापदण्ड अनुसार कार्यस्थल र क्याम्पमा हातमुख धुनका लागि साबुन पानी बन्दोबस्त, मास्कको उपलब्धता, ज्वरो नाप्नको लागि थर्मोमिटर, बढी जनशक्ति परिचालित हुने स्थलमा थर्मोगनको उपलब्धता, न्यूनतम सामाजिक र भौतिक दूरी कायम हुनुपर्ने, खानेपानीको व्यवस्थाका लागि सबै कामदारलाई आ आफ्नो बोतल र भाँडोको उपलब्धता हुनुपर्ने लगायतका न्यूनतम सुविधा उपलब्ध हुनुपर्नेछ ।

यस्तै निजी आवास पुनर्निर्माणको कार्य सुरु गर्नुभन्दा पहिले सम्बन्धित वडा कार्यालयलाई जानकारी गराई प्राप्त सुझाव बमोजिम मात्र कार्य प्रारम्भ गर्नुपर्नेछ । उपलब्ध भएसम्म स्थानीय कामदारलाई काममा लगाउनु पर्नेछ ।

स्थानीय स्तरमा कामदार उपलब्ध नभई बाहिरबाट कामदार ल्याउनुपरेमा सम्बन्धित पालिकाको सिफारिस सहित सहजीकरणको लागि जिल्ला आयोजना कार्यान्वयन इकाइलाई अनुरोध गर्नुपर्नेछ । कार्यस्थलमा अनिवार्य रुपमा साबुन पानी, मास्क, शौचालय र सरसफाइको व्यवस्था मिलाउनु पर्नेछ ।

यसैगरी खाद्य आपूर्ति तथा ज्याला भुक्तानी, कोरोना भाइरसको लक्षण देखिएमा अपनाउने सतर्कता, निर्माण सामग्रीको आपूर्ति व्यवस्थापन, कार्यालय तथा बैठक व्यवस्थापन, समन्वय, सहजीकरण र अनुगमन सम्बन्धी पनि मापदण्ड तोकिएको छ ।

प्राधिकरणका अनुसार यो मापदण्ड पुनर्निर्माण सम्बन्धी सम्पूर्ण सरोकारवालाहरुले लकडाउन कायम रहेको वा नरहेको अवस्थामा पनि अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । गत वैशाख २४ गतेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षा सम्बन्धी विभिन्न मापदण्डहरुको पालना गरी विकास आयोजनासम्बन्धी कार्य सुरु गर्न सकिने निर्णय गरेको थियो ।

सम्बन्धित खवर

Back to top button