बजेटमा एमसीसी घुसाएकाे भन्दै ज‌ंगिए बामदेव

काठमाडौं, १७ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतम बजेटमा एमसीसी घुसाएकाे भन्दै जंगिएका छन् । बैठकमा नेताहरुले आर्थिक वर्ष २०७७/७८ को बजेटमा एमसीसी घुसाइएको भन्दै असन्तुष्टि जनाएपछि अर्थमन्त्री खतिवडाले हलुका जवाफ दिएपछि उपाध्यक्ष गाैतम जंगिएका हुन् ।

अर्थमन्त्री खतिवडाले पहिलेदेखि नै चर्चामा आएको विषय भएकाले बजेटमा सो कुरा राखिएको हल्का जवाफ दिएका थिए । उनले एमसीसीको विषय नीति तथा कार्यक्रममा पनि रहेको र संसदबाट पारित हुने क्रममा रहेको भन्दै बजेटमा राखिएको विषयलाई अन्यथा लिन नहुने बताएका थिए ।

अर्थमन्त्रीको यस्तो बताएलगत्तै उपाध्यक्ष गौतम उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले बजेट कानून पनि भएको भन्दै मनपरी निर्णय गरेर अर्थमन्त्रीले पार्टीलाई नै अपमान गरेको आरोप लगाए ।

‘बजेटमा एमसीसी राख्ने विषयमा कहाँ कुरा भयो ? पार्टीभित्र छलफल नै नभइ मनपरी बजेटमा राख्ने ? अर्थमन्त्रीमाथि खनिँदै बैठकमा बामदेवले भनेका थिए, ‘बजेट भनेको कानून हो । होइन यत्तिकै राखेको भनेर गलत कुरा गर्नु भयो । पार्टीको निर्णय नभइ बजेटमा राखेर पार्टीको अपमान गर्नुभयो ।’

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, झलनाथ खनाल, माधवकुमार नेपाल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले बजेटमा एमसीसी घुसाइएकाे भन्दै असन्तुष्टि जनाएका थिए । तर इश्वर पोखरेल मौन बसेका थिए । बैठकमा आमन्त्रित भीम रावलले पनि एमसीसीका कतिपय बुँदाहरु राष्ट्रिय हितअनुरुप नभएको भन्दै यही अवस्थामा बजेटमा घुसाइनु गम्भीर गल्ती भएको बताएका थिए ।

स्रोतका अनुसार बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने विश्वसनीय परराष्ट्र सम्बन्ध र कूटनीतिमा पर्नसक्ने असरको कुरा पुरानो कुरा दोहोर्याउँदै एमसीसी पास हुनुपर्ने धारणा राखेका थिए ।

बैठकमा एमसीसीको विषयमा गरमागरम बहस भएपनि शनिबार बैठकमा प्रधानमन्त्री ओली शान्त देखिन्थे । यसअघिका बैठकमा दवावमा परेपछि आक्रोशित बन्ने गरेका ओलीको आजको शालीन प्रस्तुतीले आफूहरुलाई खुसी बनाएको एक सचिवालय सदस्यले प्रतिक्रिया दिए ।

सम्बन्धित खवर

Back to top button