पूर्व प्रधानमन्त्री देउवाको गृह गाउँपालिकालाई यसपटक पनि सबैभन्दा कम बजेट


डडेल्धुरा, १७ जेठ : आगामी आर्थिक वर्ष २०७७र०७८ मा केन्द्र सरकारमार्फत प्रदेश र स्थानीय सरकारले पाउने अनुदानको विवरण शनिबार अर्थमन्त्रालयले सार्वजनिक गरेको छ। जसमा पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह गाउँपालिकाका लागि सबैभन्दा न्यून बजेट छुट्याइएको पाइएको छ। सात स्थानीय तह रहेको डडेल्धुरामा सबैभन्दा कम बजेट गन्यापधुरा गाउँपालिकालाई विनियोजन भएको हो।
डडेल्धुराका लागि छुट्याइएको कुल २ अर्ब ४१ करोड ९३ लाख बजेटमध्ये गन्यापधुरा गाउँपालिकाका लागि २५ करोड ४६ लाख छुट्याइएको छ। डडेल्धुरामा सबैभन्दा बढी बजेट परशुराम नगरपालिकाका लागि ४६ करोड १९ लाख छुट्याइएको छ। त्यस्तै अमरगढी नगरपालिकाका लागि ४३ करोड ५८ लाख, अजयमेरु गाउँपालिकामा ३८ करोड १३ लाख, आलिताल गाउँपालिकामा ३२ करोड ६७ लाख बजेट छुट्याइएको छ। यस्तै भागेश्वर गाउँपालिकामा २८ करोड ७३ लाख र नवदुर्गा गाउँपालिकाका लागि २७ करोड १८ लाख बजेट छुट्याइएको छ।



गत आर्थिक वर्षको बजेटमा समेत सभापति देउवाको गृह पालिकामा सबैभन्दा कम बजेट छुट्याइएको थियो। गत आवमा डडेल्धुराका लागि एक अर्ब ५२ करोड ७६ लाख बजेट छुट्याइएको थियो। जसमध्ये सबैभन्दा कम गन्यापधुरा गाउँपालिकाका लागि १६ करोड ८९ लाख बजेट विनियोजन भएको थियो। यस विषयमा गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले असन्तुष्टी जनाएका छन्। विना कुनै मापदण्ड राजनीतिक धारका आधारमा आफ्नो गाउँपालिकालाई पटकपटक न्यून बजेट बजेट दिने गरेको उनले बताए।
‘भौगौलिक विकटता र जनसंख्याका अधारमा बजेट छुट्याउने हो भने सबैभन्दा जनसंख्या र भौगोलिक विकटता आलितालमा छ’ उनले भने, ‘गन्यापधुरा गाउँपालिका जनसंख्या र भौगोलिक विकटताको आधारमा जिल्लाको तेस्रो गाउँपालिका हो तर अन्यलाई अधिकतम बजेट हामीलाई कम बजेट छुट्याइयो, कांग्रेस सभापतिको गाउँपालिका भएकाले त होला।’








