क्वारेन्टीनमा ज्यान गुमाएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि


दैलेख, १७ जेठ : दैलेखमा क्वारेन्टीनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहान ज्यान गुमाएका ती ४० वर्षीय पुरुषमा जुम्लामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । मुत्यु हुनेमा १० दिनअगाडि भारतबाट आएर दुल्लुस्थित क्वारेन्टीनमा बस्दै आएका दुल्लु नगरपालिका-११ का ४० वर्षीय पुरुष थिए।
भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्वारेन्टीनमा बस्दै आएका थिए । मुत्यु भएका यूवाको कोरोना परिक्षणका लागि ३ दिन अगाडि स्वाब संकलन गरि परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो। त्यहीँ गरिएको परीक्षणबाट ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको दुल्लु अस्पताल दैलेखकी प्रमुख डा.पूजा बिसीले बताइन्।



गम्भीर बिरामी परेका उनलाई अस्पताल लगिएको थिएन । सिकिस्त भएपछि जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले क्वारेन्टीनमा आएर चेकजाँच गरेका थिए। तर बिरामी उनलाई अस्पताल लगेर उपचार नगरिँदा ज्यान गुमाउन पुगेका हुन् । क्वारेन्टीनमा बेहोस भएपछि त्यहीँ उनको उपचार गरिएको थियो। डा. बिसीका अनुसार उनको क्वारेन्टीनमै उपचारका क्रममा शनिवार बिहान मुत्यु भएको हाे ।
नेपालमा अहिलेसम्म एकजना बाहेक ज्यान गुमाएका सबैकाे मृत्यु भएपछि मात्रै काेराेना संक्रमण पुष्टि भएकाे छ । यसअघि नेपालमा कोरोनाबाट अर्घाखँचीको भूमिकास्थन गाउँपालिकाका ३५ वर्षीय पुरुषको कपिलवस्तुस्थित नेपाल-भारत सीमा क्षेत्रमा ज्यान गएको थियो । उनको भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै दुई दिनअघि मृत्यु भएको हो ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय उनको बाटोमा नै ज्यान गएको थियो । बसमा आएका गैरेले अत्यधिक बन्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए। त्यसअघि ललितपुर बुङ्मतीका ५६ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको थियो। उनी गत ११ बैशाखमा ललितपुरको किस्ट अस्पतालमा भर्ना भएका थिए । कलेजोका बिरामी उनको पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसैगरी कोरोनाबाट बाराको करैयामााई गाउँपालिका-७ उमजनका ७० वर्षीय वृद्धले नेशनल मेडिकल कलेजमा ज्यान गुमाएका थिए । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नवौँ दिनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोनाबाट मृत्यु हुने तेस्रो व्यक्ति थिए गुल्मीका ४१ वर्षीय शिक्षक । उनकाे मात्रै काेराेना पाेजेटिभ देखिएपछि ज्यान गएकाे थियाे । गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षीय उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा गत जेठ ८ गते ज्यान गएको थियो। उनी जेठ १ गते अस्पताल भर्ना भएका थिए।
त्यसअघि बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा जेठ ४ गते मृत्यु भएपछि युवकमा कोरोना पोजेटिभ देखिएको देखिएको थियो। उनको ज्यान गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा कोरोना पुष्टि गरेका थिए। नरैनापुर गाउँपालिकाको भोजभगवानपुरस्थित दीपेन्द्र माविको क्वारेन्टाइनमा बसेका २४ वर्षीय युवकको मृत्यु भएको थियो।
नेपालमा सबैभन्दा पहिले कोरोनाबाट सिन्धुपाल्चाेक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीले ज्यान गुमाएकी थिइन् । नौ दिनकी सुत्केरी उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ १ मा ज्यान गएको थियो । त्रिवि शिक्षण अस्पतालमा वैशाा २३ गते भर्ना भएर प्रसुतिपछि २५ वैशाखमा डिस्चार्ज भएकी उनी घर पुगेपछि उच्च ज्वरो आएर गम्भीर बिरामी परेकी थिइन्।
उनको पनि मृत्युपछि मात्रै कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।








