क्‍वारेन्टाइनमा बसेर घर फर्किएका ६८ बर्षीय वृद्धको मृत्यु

सिन्धुपाल्चोक, १८ जेठ : सिन्धुपाल्चोकमा क्‍वारेन्टाइनमा बसेर घर फर्किएका एक वृद्धको गए राति मृत्यु भएको छ। चौतारा साँगाचोकगढीमा रहेको क्षेत्रीय मेलचौरमा १४ दिन बसेर घर फर्किएका ६८ वर्षीय पुरुषमा स्वासप्रश्वासको समस्या देखिएर मृत्यु भएको वडाध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए।

उनी गत वैशाख १० गते काठमाडौंको हरिसिद्धिबाट घर आएका थिए। क्‍वारेन्टाइनमा उनको आरडिटी परीक्षण गरिएको र त्यसमा नेगेटिभ नतिजा देखिएपछि घर पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए। ती वृद्धको परिवारको आग्रहमा आफन्तले पिपिई सेट लगाएर अन्त्येष्टि गरेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयले पिपिई उपलब्ध गराएपछि अन्त्येष्टि गरिएको थियो। मृतकलाई राति श्वासप्रश्वासमा समस्या भएपछि वडामा रहेको स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको थियो। स्वास्थ्य चौकीमा उपचार क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए। मृतकको बिहान स्वाब संकलन गरी परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ।

सम्बन्धित खवर

Back to top button