सुदूरपश्चिममा सेती र महाकाली सहित ४ अस्पतालको आइसोलेसन संक्रमितले भरिभराउ, थप संक्रमति राख्न समस्या

डडेल्धुरा, २२ जेठ : सुदूरपश्चिम प्रदेशका चार वटा अस्पतालका आइसोलेसन वार्ड कोरोना संक्रमति बिरामीले भरिभराउ भएको छ। प्रदेश सरकारले कोरोना अस्पताल घोषणा गरेको सेती प्रादेशिक अस्पताल सहित प्रदेशका चार वटा अस्पतालका आइसोलेसन वार्ड कोरोना संक्रमित बिरामीले भरिभराउ भएका हुन्।

महाकाली अस्पताल, टीकापुर अस्पताल र अछाम जिल्ला अस्पतालको आईसोलेसन वार्ड संक्रमितले भरिभराउ भएका हो। सेती प्रादेशिक अस्पतालमा २४ शैयाको आइसोलेसन वार्ड भएकोमा २६ जना, महाकाली अस्पतालमा १० शैयाको आईसोलसन वार्ड रहेकोमा १५ जना, टीकापुर अस्पतालमा १२ शैयाको आइसोलेसन वार्ड रहेकोमा १० जना अछाम जिल्ला अस्पतालमा १७ शैयाको आइसोलेसन वार्ड रहेकोमा १० जना संक्रमितलाई राखिएको छ।

प्रदेशका ठूला अस्पतालको आइसोलसन वार्ड भरिभराउ भएपछि थप संक्रमित भेटिए उनीहरुलाई व्यवस्थापनमा चुनौती देखिएको छ। प्रदेशमा कोरोना संक्रमितको सम्पर्कमा आएका र अन्य कोरोना लक्षण देखिएका हजार बढिको परीक्षण बाँकी रहेको छ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा सुदूरपश्चिम प्रदेशभरी कोरोना संक्रमित भेटिए सेती प्रादेशिक अस्पताल पठाउनपर्ने उल्लेख छ। तर संक्रमित बढदै गएको भन्दै प्रदेश सरकारले सेती अस्पतालले मात्रै संक्रमितको व्यवस्थापन गर्न नसक्ने भन्दै स्थानीय तहलाई आइसोलेसन वार्ड तयार गर्न आग्रह गरेको छ।

सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालय डोटीले सबै पालिकाहरुलाई पत्राचार गर्दै कम्तीमा ५० शैयाको आईसोलेसन तयारी अवस्थामा राख्न आग्रह गरेको हो। स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले स्थानीय तहलाई पत्राचार गर्दै आरडिटी र पीसीआर पोजेटिभ भएकालाई व्यवस्थापन गर्न कम्तीमा पनि ५० शैयाको आईसोलेसन तयारी अवस्थामा राख्न अनुरोध गरेका छन्।

उनले अहिले सुदूरपश्चिममा देखिएका कोरोना संक्रमित लक्षणविहिन अवस्थाका भएकाले उनीहरुको स्थानीय स्तरमै उपचार तथा व्यवस्थापन गर्न सकिने पनि उल्लेख गरेका छन्। त्यस्ता विरामीको उपचार स्थानीय स्तरमा भएका स्वास्थ्यकर्मी र नर्सिङ कर्मचारीले गर्न सक्ने भन्दै क्वारेन्टाईन तयारी अवस्थामा राख्न अनुरोध गरिएको हो।

सम्बन्धित खवर

Back to top button