राष्ट्रियसभाका सदस्यहरुले लकडाउन खुकुलो बनाउन सरकारलाई दिए सुझाव

काठमाडौं, २३ जेठ : राष्ट्रियसभाका सदस्यहरुले छिट्टै लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव दिएका छन् ।शुक्रबारको बैठकमा सांसदहरुले लकडाउन स्वतःस्फुर्त रुपमा उलंघन हुन थालेको भन्दै लकडाउनको मोडल परिवर्तन गर्न र जोखिम कम भएको क्षेत्रमा खुकुलो बनाउन सुझाव दिएका हुन् ।

सांसद गोपीबहादुर सार्कीले भने ‘लकडाउनको अवधारणालाई तत्काल चेञ्ज गर्न जरुरी छ । लकडाउनको कारणले आर्थिक जनजीवन र रोजगारसँग जोडिएको क्षेत्र असाध्यै अप्ठ्यारोमा परेको अवस्था छ ।’ सांसदहरु जितेन्द्रनारायण देव, भगवती न्यौपानेलगायतले पनि निश्चित नियम बनाएर लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने बताएका छन् ।

सांसद देवले स्वास्थ्य र आर्थिक महामारीको सामना गर्न सबैको राय सुझाव लिन र सबै निकायलाई परिचालन गर्न सरकारलाई आग्रह गरेका छन् ।

सांसद भगवती न्यौपानेले लकडाउनको अवधिमा उपचार नपाएर ५८ जना सुत्केरी र गर्भवती महिलाको मृत्यु भएको सुनिएको भन्दै सरकारसँग आधिकारिक जानकारी माग गरिन् । सुत्केरी र गर्भवती महिलाको उपचारका लागि राष्ट्रिय आपतकालीन कोष निर्माण गर्न पनि उनले सुझाव दिइन् ।

सांसद हरिराम चौधरीले पनि क्वारेन्टिन स्थल व्यवस्थित बनाउन र आइसोलेसन बेडको पर्याप्त व्यवस्था गर्न माग गरेका छन् ।

सम्बन्धित खवर

Back to top button